काठमाडौँ, २६ जेठ । नेपालको नेत्र चिकित्सा क्षेत्रको विकास र आँखा उपचार सेवाको विस्तारमा दीर्घकालीन योगदान पुर्याउनुभएका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रामप्रसाद पोखरेललाई डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार–२०८२ प्रदान गरिएको छ।
उक्त पुरस्कार वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दाससँग संयुक्त रूपमा प्रदान गरिएको हो।

सोमबार आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दुवै व्यक्तित्वलाई पुरस्कार प्रदान गर्नुभएको हो। पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले जनाएको छ।
डा. पोखरेलले नेपालमा आधुनिक नेत्र उपचार सेवाको विस्तार, आँखा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा नेपाल नेत्रज्योति संघको स्थापना र संस्थागत सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। उहाँको नेतृत्व र सक्रियताले नेपालमा आँखा उपचार सेवा सर्वसुलभ बनाउन उल्लेखनीय योगदान पुगेको मानिन्छ।
त्यस्तै, सह–पुरस्कृत डा. गौरीशंकरलाल दासले चिकित्सा विज्ञान, सार्वजनिक स्वास्थ्य, स्वास्थ्य नीति तथा मानवीय सेवाका क्षेत्रमा पुर्याउनुभएको योगदानको कदरस्वरूप सम्मान प्राप्त गर्नुभएको हो।
यसैबीच, डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार–२०२६ संस्थागततर्फ कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) लाई प्रदान गरिएको छ। कोइकाले नेपालमा शिक्षा, स्वास्थ्य, सुशासन, सूचना प्रविधि, प्राविधिक तथा व्यावसायिक शिक्षा, विपद् व्यवस्थापन तथा संस्थागत क्षमता विकासलगायत क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ। अन्तर्राष्ट्रिय पुरस्कारअन्तर्गत प्रशंसापत्रसहित नेपाली संस्कृति झल्कने उपहार प्रदान गरिएको समितिले जनाएको छ।
कार्यक्रममा पुरस्कार छनोट प्रक्रिया तथा शिक्षा र समाजसेवाका क्षेत्रमा पुर्याउनुभएको योगदानको सम्मानस्वरूप प्रा. डा. मोहन लोहनी, प्रा. डा. जयराज आचार्य र प्रा. डा. प्रेमकुमार खत्रीलाई मायाको चिनो प्रदान गरिएको थियो।
पुस्तकालय विकास समितिकी अध्यक्ष प्रा. डा. बिणा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य चन्द्रकिरण श्रेष्ठले संस्थाका गतिविधिबारे जानकारी गराउनुभएको थियो।
समितिले हालसम्म १२ पटक उक्त पुरस्कार प्रदान गरिसकेको छ। इतिहासकार, चिन्तक तथा राजनीतिज्ञ डा. डिल्लीरमण रेग्मीको स्मृतिमा स्थापित यो पुरस्कारले शान्ति, मानवता, सामाजिक विकास तथा राष्ट्र निर्माणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ।