मेडिकल क्षेत्रमा नवीन प्रविधि भित्र्याउने उद्देश्य
काठमाडौँ, १३ वैशाख । ‘नवौँ नेपाल मेडिकल तथा ल्याब एक्स्पो २०२६’ को आयोजना हुने भएको छ ।
आउँदो १७ वैशाखदेखि काठमाडौँस्थित भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित नवीनतम प्रविधि, उपकरण तथा सेवाहरूलाई एकै स्थानमा अवलोकन गर्ने उद्देश्यसहित एक्स्पो सञ्चालन हुन लागेको हो । तीन दिनसम्म सञ्चालन हुने उक्त एक्स्पोको आयोजना एसडी प्रोमो मिडिया र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएशन अफ नेपाल (केमसान)सँगको सहकार्यमा एक्स्पो आयोजना गर्न लागेको हो। आयोजकका अनुसार प्रदर्शनीमा नेपाल, भारत लगायत विभिन्न देशका गरी २०० भन्दा बढी स्टल रहनेछन् ।
उक्त प्रदर्शनीमा स्वास्थ्य उपचारका लागि आवश्यक अत्याधुनिक प्रविधि, उपकरण, उत्पादन तथा नवीन आविष्कारहरू प्रस्तुत गरिनेछन्।
केमसानका अध्यक्ष भक्त हमालले विश्वस्तरीय मेडिकल टेक्नोलोजी, डाइग्नोस्टिक प्रणाली तथा प्रयोगशालासम्बन्धी सामग्रीहरूको प्रदर्शनी गरिने जानकारी दिनुभयो । उहाँले करिब ८०० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड र एक हजारभन्दा बढी उत्पादन तथा सेवाहरू एकै स्थानमा अवलोकन गर्न पाइने जानकारी दिनुभयो ।
केमसानका अध्यक्ष हमालले एक्स्पो विशेषगरी हेल्थ केयर, फार्मास्युटिकल्स तथा अनुसन्धान केन्द्रहरूले प्रयोग गर्दै आएका सामग्रीहरूको प्रदर्शनमा केन्द्रित रहने बताउनुभयो। उहाँले यस प्रकारका प्रदर्शनीले खरिदकर्ताहरूलाई नयाँ प्रविधि तथा उत्पादनबारे जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्नुका साथै व्यापार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले एक्स्पोले देशको मेडिकल क्षेत्रलाई नवीनतम प्रविधिबारे जानकारी गराउनुका साथै क्रेता र विक्रेताबीच प्रत्यक्ष अन्तरक्रियाका लागि साझा मञ्च उपलब्ध गराउने जानकारी दिनुभयो । हमालका अनुसार एक्स्पोमा अस्पतालका प्रमुख, चिकित्सक, नर्स तथा स्वास्थ्य अनुसन्धानमा संलग्न वैज्ञानिकहरूका लागि अनुभव आदानप्रदान तथा पेशागत सञ्जाल विस्तार गर्ने उपयुक्त अवसर हुने उहाँले बताउनुभयो।
त्यसैगरी, एचडी प्रोमो मिडिया प्रालिका परियोजना प्रमुख अनुरोध परासरले अघिल्ला संस्करणहरूको तुलनामा यस वर्षको एक्स्पो अझै व्यापक र विशिष्ट हुने जानकारी दिनुभयो। उहाँले विभिन्न मूल्य दायराका नवीन उपकरण तथा सामग्रीहरू प्रस्तुत गर्दै देशभरका उपभोक्ताको आवश्यकता सम्बोधन गर्ने लक्ष्य रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “मेडिकल एक्स्पोमार्फत साना तथा ठूला कम्पनीहरूबीच सहकार्य र सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ, साथै, आफ्ना उत्पादन तथा नवप्रवर्तनलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने सुनौलो अवसरका रूपमा यो कार्यक्रम स्थापित हुनेछ।”
प्रदर्शनीमा सिमेन्स, फिलिप्स, फुजीफिल्म, थर्मो फिसर साइन्टिफिक, ह्युमन डायाग्नोस्टिक, स्निबे, ड्रागर र सीटीके बायोटेकजस्ता विश्वप्रसिद्ध ब्रान्डहरूको सहभागिता हुनेछन् ।
नेपालको मेडिकल क्षेत्रमा औषधिबाहेक केमिकल, मेडिकल सप्लाई तथा प्रयोगशालासम्बन्धी सामग्रीहरूको वार्षिक कारोबार २० अर्ब रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ। यस सन्दर्भमा यस्ता प्रदर्शनीहरूले स्वास्थ्य क्षेत्रको आधुनिकीकरण, प्रविधि हस्तान्तरण तथा व्यवसायिक विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।