• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

     अस्पतालमा हवाई आक्रमण : ४०० भन्दा बढीको मृत्यु, २५० जना घाइते

     अस्पतालमा हवाई आक्रमण : ४०० भन्दा बढीको मृत्यु, २५० जना घाइते

    मंगलबार, चैत ३ २०८२
    मंगलबार, चैत ३ २०८२
     अस्पतालमा हवाई आक्रमण : ४०० भन्दा बढीको मृत्यु, २५० जना घाइते

    काठमाडौँ, ३ चैत । काबुलस्थित एक ठूलो सरकारी अस्पतालमा भएको भीषण हवाई आक्रमणमा चार सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने कम्तीमा २५० जना घाइते भएका छन्।

     

    घटनाले अन्तर्राष्ट्रिय स्तरमा गम्भीर चिन्ता उत्पन्न गरेको छ र अफगानिस्तान र पाकिस्तानबीचको द्वन्द्व झन् चर्किएको संकेत देखिएको छ।

     

    अफगान सरकारी अधिकारीका अनुसार सोमबार राति करिब ९ बजेतिर काबुलस्थित करिब दुई हजार बेड क्षमताको अस्पतालमा हवाई आक्रमण भएको हो। उक्त आक्रमणपछि अस्पतालको ठूलो भाग पूर्ण रूपमा ध्वस्त भएको छ।

    अफगान सरकारका उपप्रवक्ता हम्दुल्लाह फिटरतका अनुसार घटनास्थलमा उद्धार कार्य जारी छ र मृतक संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

    स्थानीय सञ्चारमाध्यमहरूमा सार्वजनिक भएका दृश्यहरूमा सुरक्षाकर्मीहरूले शव व्यवस्थापन गरिरहेको, घाइतेहरूलाई उपचारका लागि अन्य अस्पतालतर्फ सारिएको तथा दमकलले आगो निभाइरहेको देखिन्छ।

    CNN, Al Jazeeraलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रारम्भिक रिपोर्टमा उक्त आक्रमण पाकिस्तानले गरेको दाबी गरेका छन्।

    तर यसबारे स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको बताइएको छ।

    आरोपप्रति प्रतिक्रिया दिँदै पाकिस्तानले अस्पतालमा आक्रमण नगरेको दाबी गरेको छ।

    पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मोषर्रफ जैदीले अफगानिस्तानको आरोपलाई “आधारहीन” भनेका छन्।

    त्यस्तै, सूचनामन्त्री अताउल्लाह तरारका अनुसार पाकिस्तानले काबुल र नङ्गरहार क्षेत्रमा रहेका सैन्य संरचना तथा गोला–बारुद भण्डारलाई मात्र लक्षित गरेको थियो।

    उनका अनुसार ती संरचनाहरू अफगान तालिवानले विभिन्न आतङ्ककारी समूहलाई सहयोग गर्न प्रयोग गर्दै आएका थिए।

    घटनापछि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले गम्भीर ध्यानाकर्षण जनाउँदै तत्काल युद्धविराम र शान्ति वार्ताको आह्वान गरेको छ।

    सुरक्षा परिषद्ले अफगानिस्तानका तालिवान नेतृत्वलाई आतङ्कवाद नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।

    अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध पछिल्लो समय निकै तनावपूर्ण बन्दै गएको छ।

    पाकिस्तानले अफगानिस्तानमाथि आफ्ना देशविरुद्ध सक्रिय पाकिस्तानी तालिवान (TTP) लगायत समूहलाई शरण दिएको आरोप लगाउँदै आएको छ।

    अफगान सरकारले भने उक्त आरोप निराधार भएको बताउँदै आएको छ।

    फेब्रुअरीको अन्त्यतिर सीमा क्षेत्रमा भएको भिडन्तपछि अवस्था झन् जटिल बनेको हो। त्यसयता दुवै देशबीच पटक–पटक आक्रमण र प्रतिआक्रमण भइरहेका छन्।

    गत वर्ष अक्टोबरमा कतारको मध्यस्थतामा भएको युद्धविराम अहिले भङ्ग भइसकेको छ। पाकिस्तानले त ‘खुला युद्ध’को घोषणा नै गरिसकेको छ।

    विशेषज्ञहरूका अनुसार अस्पतालजस्तो संवेदनशील संरचनामा भएको आक्रमणले मानवीय संकट झन् गहिरिने खतरा बढाएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार