काठमाडौँ, २९ फागुन । नेपाल औषधी उत्पादक संघ (एपोन)ले औषधीबारे विस्तृत रुपमा जानकारी दिने उद्देश्यले ‘एपोन केयर्स’ एप सञ्चालनमा ल्याएको छ ।
सर्वसाधरणलाई औषधीबारेको उत्सुकता मेटाउने उद्देश्यले एपोनले डिजिटल प्लेट फर्म एपोन केयर्स सञ्चालनमा ल्याएको जानकारी दिएको छ।
एपोनका अध्यक्ष विप्लव अधिकारीले दिनुभएको जानकारी अनुसार उक्त एप मार्फत बिरामीले चिकित्सकको परामर्श विना औषधी किनेर प्रयोग गर्ने गरेको छ या, छैन, आफूखुशी औषधी खाँदा के कस्ता समस्या हुन सक्छन्, औषधी कति मात्रामा खाने, कसरी खाने, कसरी सुरक्षित राख्ने, औषधी कति तापक्रममा राख्ने लगायतका जिज्ञासा मेटाउने छ ।
नेपाल औषधी उत्पादक संघ (एपोन) ले यिनै विषयलाई मध्यनजर गर्दै डिजिटल प्लेटफर्मको सहायतामा आम नागरिक तथा बिरामीले औषधीको समुचित प्रयोगबारेमा विविध कुराहरु थाहा पाउने जानकारी दिएको छ ।
बिहीबार देखि सुरु भएको ‘नेपाल फर्मा एक्स्पो २०८२ को उद्घाटन सत्रमा प्रमुख अतिथि स्वास्थ्य मन्त्री डा। सुधा शर्मा गौतमले एपोन केयर्स डिजिटल प्लेट फर्मको उद्धघाटन गर्नुभएको हो ।
अध्यक्ष अधिकारीले औषधी प्रयोगका सहि तरिका, जानकारी र सचेतना फैलाउने योजनाका साथ ‘एपोन केयर्स’ सञ्चालनमा ल्याइएको बताउनुभयो ।
‘हामी औषधीमा आत्मनिर्भर योजनाका साथ अघि बढी रहेका छौँ । यस अवस्थामा औषधीको समुचित प्रयोगसंगै नेपालमा उत्पादन हुने औषधीको गुणस्तर देखि उत्पादन प्रक्रियाबारेमा बताउन जरुरी छ । औषधी उत्पादन गर्ने उद्योग र प्रयोग गर्ने नागरिकबीच विश्वास कायम गर्न पनि यसले भूमिका खेल्नेछ,’ अध्यक्ष अधिकारीले भन्नुभयो ।
एपोन केयर्सको फेसबुक पेज मार्फत प्रशारण हुने भिडियो तथा टेक्ष्टले औषधीका बारेमा उठेका प्रश्नको जवाफ दिनेछ ।
कसैलाई थप जानकारी लिन मन लागेका पेजको म्यासेज बक्समा गएर प्रश्न गर्न सकिने समेत अधिकारीले बताउनुभयो ।
एपोनका महासचिव सन्तोष बरालले नेपालमा औषधी उद्योग त खुले तर कैयौँ नेपालीहरुमा नेपाली औषधीका बारेमा अझ पनि भ्रम रहेको जानकारी दिदै एपले यिनै भ्रमहरु हटाउन नेपाल औषधी उत्पादक संघले एपोन केयर्स सुरु गरेको जानकारी दिनुभयो।