• आइतबार, १४ भदौ २०८३
  • images

    ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’ सुरु, २० हजारमा सेवा लिन सकिने

    ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’ सुरु, २० हजारमा सेवा लिन सकिने

    शुक्रबार, असोज २४ २०८२
    शुक्रबार, असोज २४ २०८२
    ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’ सुरु, २० हजारमा सेवा लिन सकिने

    काठमाडौं,२४ असोज । महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टरमा इन्डोस्कोपिक स्पाइन सर्जरीको सुरु गरिएको छ। 

    राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिडेन्टेन्ड डा बद्री रिजालको नेतृत्वमा गरिएको उक्त शल्यक्रियामा अर्थोपेडिक सर्जन डा कुलदीप मंगल जोशी लगायत नर्सिङ तथा अन्य जनशक्तिको सहभागिता रहेको थियो। 
    बिहीबार सम्पन्न शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको राष्ट्रिय ट्रमा सेन्टरका प्रमेसु डा. बद्री रिजालले जानकारी दिनुभयो ।

    विगतमा चिरफार नै गर्नुपर्ने अवस्था रहेकोमा अब सानो प्वाल पारेर शल्यक्रिया गर्न सकिने जानकारी दिदै यो सेवासँगै बिरामीको अस्पताल बसाइ कम हुनेछ,’डा.रिजालले भन्नुभयो,“केही निजी अस्पतालहरुमा यस प्रकारको शल्यक्रिया यसअघि नै हुने गरेकोमा राष्ट्रिय ट्रमा सेन्टरमा भने यसको सुरुवात बिहीबारबाट भएको हो।” 


    सबै सामग्री सेटअप भइसकेपछि सामान्यतया १ घन्टाभित्र सम्पन्न गर्न उक्त शल्यक्रिया पहिलोपटक गरिएकोले करिब २ घन्टा समय लागेको हो । 

    एक महिना अघि ट्रमा सेन्टरले यस प्रकारको शल्यक्रियाका लागि सामग्री ल्याएको थियो। यो सँगै अब शल्यक्रिया सहज भएको उहाँले जानकारी दिनुभयो। 

    सर्जन डा कुलदीप मंगल जोशीले ट्रमा सेन्टरमा उक्त शल्यक्रियाको सुरु भएसँगै निजी अस्पतालमा महँगो शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । उहाँले यस्तो शल्यक्रियामा इम्प्लान्ट लगाउनुनपर्ने भन्दै  निजी अस्पतालमा भन्दा धेरै सस्तो सेवा राष्ट्रिय ट्रमा सेन्टरले दिन सक्ने जानकारी गराउनुभयो । 

    निजी अस्पतालमा १ लाखसम्म पर्न सक्ने उक्त शल्यक्रिया ट्रमा सेन्टरले २० । २५ हजारमा दिने उहाँको भनाई छ । 

    ट्रमा सेन्टरमा शल्यक्रियाको शुल्क मात्रै लाग्ने उहाँको भनाइ छ । 

     इन्डोस्कोपिक स्पाइन सर्जरीः

    यो विशेषगरी नशा च्यापिने समस्या भएका बिरामीहरुमा गरिने सर्जरी हो। यसअघि त्यस्तो समस्याका बिरामीहरुमा चिरफार गरी शल्यक्रिया  गरिन्थ्यो। नशा च्यापिएर गोडा चलाउन गाह्रो हुने, झम्झम्याउने समस्या भएका बिरामीमा यस्तो शल्यक्रिया गर्नुपर्ने हुनसक्छ। 

    चिरफार गरेर शल्यक्रिया गर्नुपर्दा घाउ ठूलो हुने भएकोले रगत धेरै बग्ने जोखिम रहन्थ्यो। इन्डोस्कोपिक स्पाइन सर्जरीको सुरुवातले उक्त जोखिमलाई घटाएको डा जोशीको दाबी छ। 

    इन्डोस्कोपिक स्पाइन सर्जरीमा सानो प्वाल पारेर नशालाई च्यापेको पदार्थलाई निकाल्ने गरिन्छ। जसले गर्दा घाउ छिटो निको हुने, रगत कम बग्ने, शरीरमा भएको मांशपेसी पुरानै अवस्थामा रहने र संक्रमण हुने दर पनि न्यून हुने हुँदा बिरामी छिटो स्वस्थ हुने गर्छन्।

    त्यस्तै यस प्रविधिको सुरुवातले लामो समयसम्म एनेस्थेसिया दिनुपर्ने अवस्थाको पनि अन्त्य गरेको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार