काठमाडौं,२६ वैशाख । राष्ट्रिय मिडवाइफ्री सम्मेलनले पाँचबुँदे घोषणापत्र जारी गरेको छ।
सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न साथै सोह्रौँ योजनाले तय गरेको मातृ तथा नवजात शिशु मृत्युदरको लक्ष्य प्राप्तिका उक्त घोषणापत्र जारी गरिएको हो। काठमाडौंमा सम्पन्न भएको चौथो मिडवाइफ्री सोसाईटी अफ नेपालको सम्मेलनले मिडवाइफ्रीप्रतिको राष्ट्रिय प्रतिबद्धता, ‘मातृ तथा नवजात स्वास्थ्य सुधार र लैङ्गिक मानता प्रवर्धनको लागि एक मार्ग’ भन्ने मूल नाराको साथ सम्पन्न भएको चौथो त्रैवार्षिक राष्ट्रिय मिडवाइफ्री सम्मेलन सम्पन्न भएको थियो।
‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार,ऐन २०७५ महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मुलन सम्बन्धी समितिको नेपालका सन्दर्भमा सातौं आवधिक प्रतिवेदन माथिको निष्कर्षमाथि छलफल भएको थियो । प्रतिवेदनमा आएका सुझावहरू र १६औ योजनामा उल्लेखित लक्ष्यमा आधारित छलफलको निष्कर्ष स्वरूप सर्वसुलभ स्वीकार्य र गुणस्तरीय यौन प्रजनन मातृ नवजात शिशु तथा किशोर किशोरीहरूको स्वास्थ्य सुरक्षित गर्न सरकार विकास साझेदार नागरिक समाज पेशागत सङ्घ र निजी क्षेत्रलाई निम्नलिखित आह्वान गरेको छ ।
पाँच बुँदे घोषणाः
१, मिडवाइफ्री शिक्षा र सेवाको लगानीमा वृद्धि
मिडवाइफ्री शिक्षा र सेवामा लगानी गर्नाले यौन, प्रजनन, मातृ, नवजात तथा किशोर किशोरीको स्वास्थ्यमा सुधार, आर्थिक उन्नति र लैङ्गिक समानतामा त्रिपक्षीय लाभ भई दिगो विकासका लक्ष्यहरू ३.१, ३.२, ३.७ र ५.६ प्राप्तिमा योगदान हुने भएकोले लैङ्गिक उत्तरदायी बजेट मिडवाई फ्री शिक्षा र सेवाको लागि विनियोजन गरी वित्तीय लगानी वृद्धि गर्ने।
२, मिडवाइफ्री जनशक्तिको दरबन्दी सृजना
मिडवाइफलाई राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीमा एकीकृत गरी प्राथमिक आवश्यकताका आधारमा स्वास्थ्य संरचना अनुरूप दरबन्दी सिर्जना, नियुक्ति, प्रभावकारी परिचालन तथा अनुकूल वातावरण सृजना सहित टिकाउ र निरन्तर पेशागत उन्नयन सुनिश्चित गर्ने ।
३, सम्मानजनक प्रसुति सेवाको प्रवर्द्धन
महिला तथा नवजात शिशुलाई सम्मानजनक, गुणस्तरीय, मानव अधिकारमैत्री, सामाजिक सांस्कृतिक रूपमा संवेदनशील तथा मर्यादित सेवामार्फत प्रसूति हिंसा रोकथाम गरी सकारात्मक प्रसूति अनुभव सुनिश्चित गर्ने।
४, मिडवाइफ्री अभ्यासको नियमन
सुरक्षित मिडवाइफ्री सेवाको सुनिश्चितताको लागि मिडवाइफ्री ऐनको निर्माणसहित कानुनी रुपमा नियमन प्रणाली विकास गरी सेवाग्राही तथा सेवापदायक मिडवाइफ को सुरक्षाको सुनिश्चितता गर्ने ।
५, अन्तर व्यवसायिक समन्वयात्मक सहकार्यलाई सुदृढीकरण
यौन ,प्रजनन्, मातृ ,नवजात शिशु, तथा किशोर किशोरीको स्वास्थ्यलाई केन्द्रमा राख्दै विभिन्न पेशागत व्यावसायिक अभ्यासको दायरालाई आत्मसाथ गरी साझा निर्णय लिने प्रक्रियासहित समन्वयात्मक सहकार्य प्रवर्धन गर्ने।