१६ भदौ, काठमाडौं । नेपाली नर्स ममता काफ्ले सम्बन्धि केही तस्वीर त्यहाँको प्रहरीले सार्वजनिक गरेको छ।
नेपाली नर्स ममता जुलाई ३१ देखि अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी थिईन् ।
प्रहरीले ममताको घरभित्रका केही तस्वीरहरु सार्वजनिक गरेको छ । जस अनुसार भट्टको कोठाभित्र कार्पेट र बाथरुममा रगतका टाटाहरु देखिएका छन् ।
ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् । उनको घरमा भारी मात्रामा रगत बगेको तथ्यसहित फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा उनका पति नरेश भट्टलाई पक्राउ गरेको थियो ।
ममता बेपत्ता हुनुमा श्रीमान् नरेश भट्टको हात रहेको भन्दै मनसास पार्क प्रहरीले भट्टलाई थुनामा राखेको छ । अदालतमा शरीर लुकाएको आरोपमा भएको सुनुवाइका क्रममा अदालत समक्ष पेश गरिएको तस्वीरहरु सार्वजनिक भएको हो ।
अमेरिकाको स्थानीय अनलाइन समाचार पोर्टल फक्सफाइभडिसी डटकमले सार्वजनिक गरेको तस्वीरहरुमा रगत देख्न सकिन्छ ।
नरेशलाई पक्राउ गरेर लैजाँदा मनसास प्रहरीका अधिकारीहरुले घरबाट कार्पेट पनि लगेका थिए । अदालतमा भएको सुनवाइका क्रममा अभियोजकतर्फका वकिलहरुले गरेको बहस अनुसार, ममता जिवित नभएको प्रहरी निष्कर्ष निकालेको छ ।
कोठाभित्र झगडापछि रक्ताम्मे भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरुको आशंका छ । अहिले सार्वजनिक भएको कोठा र बाथरुमका तस्वीरहरुले पनि त्यो शंकालाई बल पुर्याएको छ ।
अधिकृतहरुले कोठामा रगत भए नभएको पहिचान गर्न ब्लुस्टार प्रविधि प्रयोग गरेका थिए ।
अदालतमा भएको बहसका क्रममा अभियोजकतर्फका वकिलहरुले प्रहरी अनुसन्धानका क्रममा नरेशले घटनाको केहीअघि श्रीमतीको मृत्यु भएको कति समयपछि बिहे गर्न सकिन्छ भनेर गुगल सर्च गरेको फेला परेको बताएका थिए ।
ममता सम्पर्कविहीन भएलगत्तै उनले आफ्नो कार बिक्री गरेको पनि अनुसन्धानबाट खुलेको छ भने उनले घर पनि विक्री गर्न खोजेका थिए । ममता र नरेशबीच सामाजिक सञ्जालबाट चिनजान भएर चार वर्षअघि विवाह भएको थियो ।