श्रीमान नरेश भट्टको मुद्दामा थप विवरण सार्वजनिक
काठमाडौं, ९ भदौ । अमेरिकाको भर्जिनियाबाट बेपत्ता भएकी नर्स ममता काफ्ले भट्ट अझै बेपत्ता छन् ।
यसअघि प्रहरीले ममताको पति नरेश भट्टको घरको बेडरुम र बाथरुममा भेटेको रगत, उनले किनेका तीनवटा चक्कु र अन्य प्रमाणमा आधारमा ममता जिउँदो नहुन सक्ने निर्क्यौल निकाल्दै ममताका श्रीमान् नरेश भट्टलाई पक्राउ गरेर अदालतमा पेश गरेको थियो ।
ममताको 'हत्या भएको' हुन सक्ने प्रमाण प्राप्त भएपनि शव बरामद गर्न प्रहरी अझै सफल भइसकेको छैन।
वासिङ्टन पोस्टको एक रिपोर्ट अनुसार नरेश भट्ट उक्त घर बेचेर भाग्ने तयारी गरिरहेको प्रमाणहरु फेला परेका छन्।
प्रिन्स विलियम काउन्टीका एक अभियोजकलाई उद्घृत गर्दै भनिएको छ, 'बेपत्ता नर्स ममताका पतिले आफ्नो टेस्ला कार बेचेका थिए। सुटकेसहरू प्याक गरेका थिए र आफ्नी श्रीमती बेपत्ता भएपछि आफ्नो घर बेच्ने विषयमा केही व्यक्तिसँग कुरा गरेका थिए।'
यही कारण प्रहरी अधिकारीहरूले उनी भाग्ने प्रयासमा रहेको निष्कर्ष निकालेका छन्। प्रिन्स विलियम काउन्टीका अभियोजक साराह सामीले अनुसन्धानकर्ताहरूले परिवारको घरमा रगतको थुप्रो फेला पारेको बताइन्। तर उनले बेपत्ता महिला २८ वर्षीया ममता काफ्ले भट्टसँग अहिलेसम्म सम्पर्क नगरेको र उनको शव फेला नपरेको बताएकी छिन् ।
जुलाइ ३० मा नरेश भट्टले चक्कुहरू किनेका थिए, जुनदिन अन्तिपटक ममताको परिवारसँग सम्पर्क भएको थियो। उनी सोही दिन लाइसोल र फेब्रेज किन्न पनि गएका थिए। जसलाई अधिकारीहरूले अपराध दृश्य सफा गर्न प्रयोग गरेको हुनसक्ने आशंका गरेका छन्।
नरेशलाई १४ दिनको न्यायिक हिरासतमा राखिएको छ।
मुद्दाका अभियोजक सामीले नरेश भट्टले आफ्नी श्रीमतीको अवस्थाबारे अमिल्दा कथाहरु सुनाएर अलमल्याएको बताइन्। जुलाई ३१ देखि उनी परिवारको सम्पर्कमा छैनन्। नरेशले त्यो बीचमा कसैलाई खबर गरेका छैनन् । अगस्ट १ सम्म ममताको दुई सिफ्ट छुटेपछि मेडिकल सेन्टरका सहकर्मीले प्रहरीलाई खबर गरेका हुन्।