काठमाडौँ, १४ फागुन । स्वास्थ्य सेवा दिवस २०७९ को अवसरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ ।
संकलित रगत नेपाल रेडक्रस सोसाइटी अन्तरगतको केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रलाई हस्तान्तरण गरिएको छ ।
रक्तदान कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ८ जना, स्वास्थ्य सेवा विभागबाट ७ जना, विभिन्न पेशागत संघ संगठनबाट ५ जना, विश्व स्वास्थ्य संगठन नेपालबाट २ जना, मानसिक अस्पतालबाट १ जना, शहीद शुक्रराज सरुवा रोग अस्पतालबाट १ जना, युएसएआर्यडी र एफएचआईबाट १ १ जना र अन्य ८ जनाले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईँ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह लगायतको उपस्थिति थियो । स्वास्थ्य सेवा दिवस सोमबार मनाइदै छ ।