काठमाडौं । नेपाल मङ्कीपक्स संक्रमणको उच्च जोखिममा रहेको छ। स्वास्थ्य पत्रकार मञ्च नेपाल र विश्व स्वास्थ्य संगठनले आयोजना गरेको कोभिड- १९ महामारी तथा मङ्कीपक्स वर्तमान अवस्था र तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले नेपाल मङ्कीपक्सको उच्च जोखिममा रहेको बताएका छन् । 
कार्यक्रममा नेपालस्थित विश्व स्वास्थ्य संगठनका स्वास्थ्य आपततकाल कार्यक्रम प्रमुख डा.एलिसन गोकोटानोले मङ्कीपक्स संक्रामक रोग रहेको बताउनुभयो । उहाँले नेपालमा एउटा मात्रै केस मङ्कीपक्सको देखापरे प्रकोपको रुप लिने जोखिम रहेको बताउनुभयो ।उहाँले मंकीपक्स मानिसबाट मानिस तथा जनावरबाट मानिसमा सर्न सक्ने भन्दै यो रोगका शंकास्पद व्यक्तिहरु आइसोलेसनमा बस्नुपर्ने बताउनुभयो । हालसम्म विश्वका ८० भदा बढी देशमा मंकीपक्सका २४ हजार बढी बिरामी भेटिएका छन् । नेपालमा भने अहिलेसम्म मंकीपक्स रोगको संक्रमण देखिएको छैन दक्षिणपूर्वी एसियामा भारत र थाइल्याण्डमा मंकीपक्स संक्रमण देखिसकेको छ । यद्यपी छिमेकी देश भारतमा केस देखिसकेकाले नेपाल पनि यसको जोखिममा रहेको हो।
यसै हप्ता भारतमा मंकीपक्स संक्रमणका कारण पहिलो पटक एक संक्रमितको मृत्यु भइसकेको छ ।मंकीपक्स काटिएको, बिमिरा वा घाउको आलो दाग, आँखा, नाक वा मुख र श्वासनलीबाट भाइरस शरीरमा प्रवेश गर्छ । ज्वरो आउनु,सामान्यतय ज्वरो सुरु भएको १ देखि ३ दिन भित्र छाला, अनुहार, हत्केला र पैतलाबाट डाबर देखा पर्नु, डाबर परिवर्तन भई फोका हुँदै प्रापा लागेर उप्किनु, टाउको ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थीहरु बढ्नु मंकीपक्स रोगको लक्षणहरु हुन् । यसैगरी क्लिनकल स्पेसलिष्ट डा.शितल अधिकारीले संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा मंकीपक्स सर्नसक्ने बताउनुभयो । उहाँले संक्रमित व्यक्तिको घाउ खटिरा बिमिरा थुक, र्यालको सम्पर्कबाट मंकीपक्स फैलने भन्दै सचेत गराउनुभयो ।
इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा.खगेश्वर गेलालले महाशाखाको नेतृत्वमा मंकीपक्सका लागि फोकल पर्सन वा विषय विज्ञहरु नियुक्त गरिएको तथा संक्रमणको शैली, सर्ने तरिका, लक्षणहरु, जटिलता, प्रोगशालामा परीक्षण तथा निदानम्बिन्धी रणनीतिबारे अभिमुखीकरणहरु सञ्चालन गरिएको उहाँले बताउनुभयो । मंकीपक्स संक्रमण नियन्त्रणका लागि प्रतिकार्य गतिविधि सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
उहाँले प्रतिकार्य गतिविधि अन्तर्गत मंकीपक्सको केस अनुसन्धान गर्न देशभरी १४ जना फोकल डाक्टर तोकिएको बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंकीपक्स परीक्षण गर्ने किट उपलव्ध भइसक्नुका साथै नमुना ढुवानी र परीक्षण गर्ने व्यवस्था भएको उहाँले जानकारी दिनुभयो । भारतमा मंकीपक्सको केस देखिएपछि त्रिभुवन विमानस्थलमा निगरानी बढाएको उहाँको भनाइ छ ।
नेपालमा हालसम्म मंकीपक्सका ४ शंकास्पद बिरामी देखि परीक्षण गरिएको थियो । तर उनीहरुलाई मंकीपक्स नभएको पुष्टि भयो । कार्यक्रममा डब्ल्यूएचओ नेपालका प्रमुख डा.राजेश संभाजीराव पाण्डेले नेपालमा अहिलेसम्म मंकीपक्स संक्रमण नदेखिए पनि यसलाई नजिकबाट नियाल्दै पूर्वतयारीको काम थालिएको बताउनुभयो ।
सही रिपोर्टिङलेनै अफवाह र गलत जानकारीहरुलाई चिर्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै उहाँले रोगको पहिचान, रोकथाम र नियन्त्रणमा सही जानकारी र स्वास्थ्य सल्लाह प्रदान गर्न पत्रकारको मुख्य भुमिका हुने बताउनुभयो । कार्यक्रममा नेपालस्थित डब्ल्यूएचओको कार्यालयमा कार्यरत मेडिकल अफिसर डा.बिनोद बुराले नेपालमा ७० प्रतिशत लक्षित जनसंख्याले कोरोना विरुद्धको खोप पाइसकेको र अब बुस्टर डोजतर्फ ध्यान दिनपर्ने बताउनुभयो । उहाँले विश्वव्यापी रुपमै केही सातादेखि कोरोना संक्रमण बढिरहेकाले संक्रमणबाट जोगिन बुस्टर डोज लगाउने तर्फ सचेतना फैलाउनपर्ने आवश्यक देखिएको बताउनुभयो ।
यस्तै भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष सम्पर्क, संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट यो भाइरस सर्ने उहाँले जानकारी दिनुभयो ।
नेपालस्थित डब्ल्यूएचओको कार्यालयमा आवद्ध हेल्थ इमरजेन्सी इन्टरभेन्सन अफिसर प्रतीक्षा आचार्यले अफ्रिकाबाहेक सबै क्षेत्रमा संक्रमण बढिरहेको बताउनुभयो । नेपालस्थित डब्ल्यूएचओको कार्यालयमा आवद्ध एन्टीमाइक्रोयिबल रेसिस्टेन्स एण्ड ल्याब्रोटोरी नेशनल प्रोफेसनल अफिसर पल्लपसा तुलाधार कंसाकारले कोरोना भाइरस व्यापक रुपमा फैलदैं जाने क्रममा नयाँ र खतरनाक भेरियन्टहरु देखा परिहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालमा अध्यक्ष रामप्रसाद न्यौपानेले स्वास्थ्य पत्रकारहरुले प्रकोपको समयमा अग्रपंक्तिमा रहेर जनतालाई सुसुचित गराइरहेको बताउनुभयो ।