काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोभिडपछि उत्पन्न मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्नका लागि सरकारले प्रथामिकता दिने बताएका छन्।
मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको संस्था ह्याप्पी माइन्डले बुझाएको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री खतिवडाले सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताएका हुन् ।
कोभिडपछि मानसिक स्वास्थ्य समस्या बढ्दै गएको बारे सरकार जानकार रहेको र उक्त समस्याको रोकथाम तथा समय मै पहिचान गरी स्वास्थ्य संस्थाहरुमार्फत परामर्श तथा उपचारको व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको उनको भनाई छ ।
उनले आउँदो आर्थिक वर्षका लागि संसदमा प्रस्तुत हुने नेपाल सरकारको नीति तथा कार्यक्रममा पनि मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्ने विषय समेटिएको बताए।
ज्ञापनपत्र बुझाउँदै ह्याप्पी माइन्ड्सकी संस्थापक तथा सीइओ श्रीया गिरीले कोभिड–१९ महामारीले ल्याएको बढ्दो मानसिक स्वास्थ्य संकटले गर्दा आत्महानि लगायतका मानसिक रोगहरूमा उल्लेखनीय वृद्धि भएको बताईन ।
मानसिक स्वास्थ्यमा सुधार ल्याउनको लागि मानसिक स्वास्थ्यको जागरूकता अत्यन्त जरुरी छ भन्दै गिरीले आगामी वर्षको बजेटमा मानसिक स्वास्थ्यको लागि बढी बजेट छुट्याउन आग्रह समेत गरिन्।
२० जना भन्दा बढी मानसिक स्वास्थ्य विशेषज्ञहरू रहेको ह्याप्पी माइन्ड्सले अनलाइन तथा प्रत्यक्ष परामर्श सेवा प्रदान गर्दै आएको बताइन्।
मद्दत खोज्ने व्यवहारलाई प्रोत्साहित गर्न, ह्याप्पी माइन्ड्सले कर्मचारी सहायता कार्यक्रम ल्याएको छ जसले कर्पोरेट र अन्य संस्थाहरूलाई आफ्ना कर्मचारी र विद्यार्थीहरूलाई आपतकालीन घटनाहरूको लागि हटलाइन सेवाको साथमा निःशुल्क मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने गर्दछ।
गिरीले आगामी वर्ष हामी मानसिक स्वास्थ्य सचेतना फैलाउन र आत्म जागरूकता बढाउनका साथै आपत्कालीन मानसिक स्वास्थ्य स्थितिमा काम गर्न लागेको बताइन् ।