काठमाडौं १८ असोज । नेपालमा बाल क्यान्सरको उपचारलाई प्रभावकारी बनाउन उपचारमा संलग्न स्वास्थ्य संस्था र निकायबीच समन्वय बढाउँदै देशभर उपचारको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ।
बाल क्यान्सर उपचारमा देखिएका समस्या समाधानका लागि रोग पहिचानदेखि उपचार पूरा भएपछि गरिने सेवासम्मलाई एउटै राष्ट्रिय प्रणालीमा जोड्नुपर्ने आवश्यकता औँल्याइएको हो। बाल क्यान्सरलाई राष्ट्रिय स्वास्थ्य प्राथमिकतामा थप प्रभावकारी रूपमा समेट्दै स्पष्ट जिम्मेवारी र लक्ष्यसहितको राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने सुझावसमेत दिइएको छ।
काठमाडौंमा आयोजना गरिएको ‘राष्ट्रिय बाल क्यान्सर उपचार तथा सरोकारवाला सहभागिता गोष्ठी’मा सहभागीहरूले बाल क्यान्सर उपचारको वर्तमान अवस्था, उपलब्ध सेवा तथा सुधार गर्नुपर्ने पक्षबारे छलफल गर्दै यस्तो सुझाव दिनुभएको हो।
विश्व बाल क्यान्सर, रमेश गुप्ता मेमोरियल ट्रस्ट र टुगेदर अगेन्स्ट चाइल्डहुड क्यान्सरको संयुक्त आयोजनामा भएको गोष्ठीमा सरकारी निकाय, अस्पताल, चिकित्सक तथा स्वास्थ्यकर्मी, पेशागत संस्था, प्रतिष्ठान, गैरसरकारी संस्था, अभिभावक, क्यान्सर उपचारपछि स्वस्थ भएका व्यक्ति तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।
छलफलका क्रममा बाल क्यान्सरको उपचारमा सबैभन्दा पहिले रोग पहिचानमै हुने ढिलाइ कम गर्नुपर्ने विषय उठाइएको थियो। समुदाय र प्राथमिक तहमा कार्यरत स्वास्थ्यकर्मीलाई बाल क्यान्सरका प्रारम्भिक लक्षणबारे आवश्यक ज्ञान र सीप उपलब्ध गराई शङ्कास्पद बिरामीलाई समयमै विशेषज्ञ सेवामा पठाउने व्यवस्था प्रभावकारी बनाउनुपर्ने सुझाव दिइएको छ।
विशेषज्ञ उपचारका लागि बालबालिकालाई टाढा–टाढाबाट ठूला अस्पतालमा ल्याउनुपर्ने अवस्थाले परिवारमा आर्थिक तथा सामाजिक भार थपिने भएकाले क्षेत्रीय उपचार सञ्जाल विस्तार गर्नुपर्नेमा पनि जोड दिइएको छ। यसका लागि उपचारमा संलग्न अस्पतालबीच सहकार्य र बिरामी पठाउने प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने सुझाव दिइएको छ।
गोष्ठीमा बाल क्यान्सर उपचारका लागि आवश्यक औषधि, रक्तजन्य सामग्री तथा परीक्षण सेवा नियमित र सहज रूपमा उपलब्ध हुनुपर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको थियो। किमोथेरापी सेवा, संक्रमण नियन्त्रण र बिरामी सुरक्षासम्बन्धी मापदण्डको प्रभावकारी पालना गर्नुपर्नेमा सहभागीहरूले जोड दिनुभयो।
बाल क्यान्सर उपचार केवल रोग निको पार्ने चिकित्सकीय सेवामा सीमित नभई बालबालिका र परिवारको समग्र आवश्यकतालाई सम्बोधन गर्ने किसिमको हुनुपर्नेमा पनि सहभागीहरूको जोड थियो। उपचारका क्रममा पोषण, मानसिक स्वास्थ्य, दुखाइ व्यवस्थापन तथा मनोसामाजिक सहयोग आवश्यक हुने भएकाले त्यस्ता सेवालाई उपचार प्रणालीकै अभिन्न अङ्ग बनाउनुपर्ने सुझाव दिइएको छ।
त्यसैगरी, बाल क्यान्सर उपचारमा संलग्न नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको नियमित क्षमता विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। उपचार पूरा गरेपछि पनि बालबालिकाको स्वास्थ्य अवस्था, पुनःरोगको सम्भावना, शारीरिक तथा मानसिक विकास र जीवनस्तरको नियमित निगरानी गर्ने व्यवस्था आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।
नेपालमा बाल क्यान्सर उपचारको वास्तविक अवस्था पहिचान गर्न भरपर्दो राष्ट्रिय तथ्यांक प्रणालीको आवश्यकता रहेको विषयमा पनि गोष्ठीमा छलफल भएको थियो। कति बालबालिकामा क्यान्सर पहिचान हुन्छ, कति उपचार पूरा गर्छन्, कति उपचारबीचमै छाड्छन्, रोग पुनः देखिने अवस्था र उपचारपछि बिरामीको अवस्थालगायत विवरण नियमित रूपमा अभिलेख राख्ने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ।
बाल क्यान्सर उपचार गर्ने अस्पतालहरूको सेवा र क्षमताको नियमित मूल्यांकन गर्नुपर्नेमा पनि सहभागीहरूले जोड दिनुभएको छ। अस्पतालमा उपलब्ध जनशक्ति, परीक्षण तथा निदान सेवा, औषधि, उपचार पद्धति, बिरामी सुरक्षा, सहायक उपचार र मनोसामाजिक सेवाको अवस्थालाई आधार बनाएर मूल्यांकन गर्नुपर्ने सुझाव दिइएको हो।
गोष्ठीले बाल क्यान्सर उपचारमा संलग्न सरकारी तथा गैरसरकारी निकाय, अस्पताल, स्वास्थ्यकर्मी, अभिभावक र क्यान्सरमुक्त भएका व्यक्तिलगायत सरोकारवालाबीच निरन्तर सहकार्यका लागि राष्ट्रियस्तरको समन्वय संयन्त्र आवश्यक रहेको निष्कर्ष निकालेको छ।
त्यस्तो संयन्त्रमार्फत उपचार सेवाको अवस्था नियमित रूपमा समीक्षा गर्ने, सुधारका लागि आवश्यक कदम चाल्ने र तोकिएका जिम्मेवारी कार्यान्वयन भए–नभएको अनुगमन गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ।
सहभागीहरूले बाल क्यान्सरको उपचारमा उपलब्ध सेवाको विस्तारसँगै गुणस्तरमा पनि समान ध्यान दिनुपर्ने बताउँदै कुनै पनि बालबालिका आर्थिक अवस्था, भौगोलिक दूरी वा उपचार सेवाको अभावका कारण उपचारबाट वञ्चित हुन नहुने धारणा राख्नुभएको थियो।