• बुधबार, २५ कात्तिक २०८३
  • images
    images
    हिमभास

    भास्कुलर उपचारका नयाँ प्रविधिबारे सम्मेलन हुने

    भास्कुलर उपचारका नयाँ प्रविधिबारे सम्मेलन हुने

    बुधबार, भदौ ३१ २०८३
    बुधबार, भदौ ३१ २०८३
    भास्कुलर उपचारका नयाँ प्रविधिबारे सम्मेलन हुने

    काठमाडौँ, ३१ भदौ । भास्कुलर रोगको उपचारमा विकसित नयाँ प्रविधि, अनुसन्धान र उपचार अनुभवबारे विश्वका विशेषज्ञबीच ज्ञान आदानप्रदान गराउने उद्देश्यले दोस्रो हिमालय इन्टरनेशनल भास्कुलर समिट (हिमभास–२०२७) काठमाडौँमा आयोजना हुने भएको छ ।

    आगामी चैत ३ देखि ७ गतेसम्म सञ्चालन हुने सम्मेलनमा सयभन्दा बढी मुलुकका विशेषज्ञ चिकित्सक तथा वैज्ञानिकलाई सहभागी गराउने तयारी गरिएको आयोजकले जनाएको छ । सम्मेलनमा नेपालीसहित एक हजारभन्दा बढीको सहभागिता रहने छ ।

    ललितपुरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सम्मेलनका संयोजक एवं वरिष्ठ भास्कुलर शल्यचिकित्सक डा. सन्दीपराज पाण्डेयले विश्वका विभिन्न मुलुकमा भास्कुलर उपचारका क्षेत्रमा भइरहेका नयाँ अभ्यास र अनुसन्धानलाई नेपालमा प्रस्तुत गराउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो ।

    उहाँका अनुसार हालसम्म ६० भन्दा बढी मुलुकबाट विशेषज्ञले सम्मेलनमा सहभागी हुने प्रतिबद्धता जनाइसकेका छन् ।

    प्रत्यक्ष रूपमा सहभागी हुन नसक्ने चिकित्सक, अनुसन्धानकर्ता तथा विद्यार्थीलाई विद्युतीय माध्यमबाट सम्मेलनमा जोड्ने तयारी पनि गरिएको छ ।

    सन् २०२४ मा काठमाडौँमै आयोजना भएको हिमभासको पहिलो संस्करणमा ४३ मुलुकका विशेषज्ञसहित करिब ३५० जनाको सहभागिता रहेको थियो । पहिलो सम्मेलन तीन दिन सञ्चालन गरिएकोमा यसपटकको कार्यक्रम पाँच दिनसम्म सञ्चालन गरिनेछ ।

    सम्मेलनमा भास्कुलर शल्यचिकित्सा, मुटु शल्यचिकित्सा, मुटुरोग, भास्कुलर उपचारमा विशेषज्ञता हासिल गरिरहेका चिकित्सक, आवासीय चिकित्सक, नर्स तथा स्वास्थ्य सेवासँग सम्बन्धित अन्य जनशक्तिको सहभागिता रहनेछ ।

    भास्कुलर चिकित्सा मानव शरीरका विभिन्न रक्तनलीसँग सम्बन्धित रोगको पहिचान, उपचार तथा शल्यक्रियासँग सम्बन्धित चिकित्सा विधा हो । 
    डा. पाण्डेयले यस क्षेत्रमा उपचारका नयाँ प्रविधि र पद्धति तीव्र रूपमा विकास भइरहेकाले विशेषज्ञबीच नियमित ज्ञान आदानप्रदान आवश्यक रहेको बताउनुभयो ।
    चिकित्सा विज्ञान स्थिर विषय होइन । नयाँ अनुसन्धान र प्रविधिसँगै उपचारका विधि पनि परिवर्तन भइरहेका छन् । विश्वका विभिन्न ठाउँमा भइरहेको अनुसन्धान र उपचारको अनुभवलाई एकै ठाउँमा ल्याएर छलफल गर्ने अवसर सम्मेलनले दिनेछ, डा. पाण्डेयले भन्नुभयो ।

    सम्मेलनमा भास्कुलर उपचारसँग सम्बन्धित करिब ३०० भन्दा बढी कार्यपत्र तथा पोस्टर प्रस्तुत गर्ने तयारी गरिएको छ । प्रस्तुत कार्यपत्रमाथि छलफल र अनुभव आदानप्रदानसँगै उपचारमा प्रयोग भइरहेका नवीन प्रविधिका विषयमा समेत विज्ञबीच अन्तक्र्रिया हुनेछ ।

    चिकित्सा पर्यटनको सम्भावना

    हिमभासलाई चिकित्सा ज्ञान र सीप आदानप्रदान गर्ने थलोका रूपमा मात्र नभई नेपालको स्वास्थ्य सेवा र चिकित्सा पर्यटनलाई अन्तर्राष्ट्रिय समुदायमाझ पुर्‍याउने माध्यमका रूपमा पनि उपयोग गर्ने तयारी गरिएको छ ।

    डा. पाण्डेयले पहिलो सम्मेलनमा सहभागी विदेशी विशेषज्ञमध्ये ४० भन्दा बढीले कार्यक्रमपछि नेपालको पर्यटकीय क्षेत्रको भ्रमण गर्नुभएको जानकारी दिनुभयो । यसपटक पनि सम्मेलनमा सहभागी हुने विदेशी चिकित्सक तथा उहाँहरूका परिवारका सदस्यले नेपालमा केही दिन थप बिताएर पर्यटकीय क्षेत्रको भ्रमण गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

    स्वास्थ्यसँगै नेपालको पर्यटन प्रवद्र्धनमा पनि यस्ता कार्यक्रमले योगदान पुर्‍याउँछन् । सम्मेलनका लागि नेपाल आएका चिकित्सकले यहाँको स्वास्थ्य सेवा र पर्यटकीय सम्भावनाबारे प्रत्यक्ष जानकारी पाउनल्ने  उहाँको भनाइ छ ।

    डा. पाण्डेयका अनुसार पहिलो हिमभासपछि नेपालमा उपचारका लागि आउने विदेशी बिरामीको सङ्ख्यामा समेत वृद्धि भएको छ । उहाँले पहिलो सम्मेलनपछि विभिन्न मुलुकबाट ३०० भन्दा बढी विदेशी बिरामी उपचारका लागि आफ्नो सम्पर्कमा आएको जानकारी दिनुभयो ।

    उहाँले भारत, भुटान र बङ्गलादेशसँगै मध्यपूर्व, मलेसिया, इन्डोनेसिया, टर्की तथा युरोपका केही मुलुकबाट समेत उपचारका लागि नेपाल आउन थालेको  बताउनुभयो ।

    नेपालमा उपलब्ध उपचार सेवा, दक्ष जनशक्ति र तुलनात्मक रूपमा कम खर्चमा हुने उपचारबारे अन्तर्राष्ट्रियस्तरमा जानकारी विस्तार गर्न यस्ता सम्मेलन उपयोगी हुने उहाँको भनाइ छ ।

    हिमालय क्षेत्रलाई जोड्ने पहल

    हिमालय क्षेत्रसँग सम्बन्धित मुलुकलाई समेटेर भास्कुलर चिकित्सा क्षेत्रमा सहकार्य र ज्ञान आदानप्रदान गर्ने अवधारणाअनुसार हिमभासको सुरुवात गरिएको हो । सम्मेलनको अवधारणाकर्ता पनि डा. पाण्डेय नै हुनुहुन्छ ।

    उहाँले नेपालजस्तो मुलुकमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा अमेरिका, बेलायत, अस्ट्रेलिया, इटाली, फ्रान्स, जापान, चीन, भारत, संयुक्त अरब इमिरेट्सलगायत विकसित मुलुकका विशेषज्ञ सहभागी हुनु सम्मेलनको अर्को विशेषता रहेको  बताउनुभयो ।

    बङ्गलादेश, पाकिस्तान, भुटान, श्रीलङ्का, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, टर्की, अस्ट्रिया, कोलम्बिया, इजिप्ट, हङकङ, स्विडेन र ओमानलगायत मुलुकका विशेषज्ञले पनि सहभागिता सुनिश्चित गरेको आयोजकले जनाएको छ ।

    सम्मेलन व्यवस्थापनको जिम्मेवारी पाएको इभेन्टिक नेपालका पेशल भट्टराईले यसपटकको सम्मेलन पहिलो संस्करणभन्दा ठूलो र अन्तर्राष्ट्रियस्तरमा नेपालको स्वास्थ्य सेवा परिचित गराउने अवसरका रूपमा रहने बताउनुभयो ।

    उहाँले अन्तर्राष्ट्रिय विशेषज्ञलाई नेपालमा आमन्त्रण गरी यहाँको स्वास्थ्य सेवा, दक्ष चिकित्सक तथा उपचार क्षमताबारे जानकारी गराउँदा चिकित्सा क्षेत्रसँगै पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार