काठमाडौँ, ३० भदौ । प्रेस काउन्सिल नेपालले आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिएर सामाजिक सञ्जाल तथा युट्युबमार्फत प्रसारण गरिएका सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले त्यस्ता सामग्री पत्रकार आचारसंहिताको परिधिभित्र रहे–नरहेको विषयमा थप अध्ययन तथा अनुगमन गरिरहेको जनाएको हो।
काउन्सिलका अनुसार रसुवामा आएको बाढीबाट उद्धार गरिएका तथा अस्पतालको आईसीयूमा उपचाररत व्यक्तिसँग गरिएको अन्तर्वार्ता सामाजिक सञ्जाल र युट्युब च्यानलमार्फत प्रसारण भएको विषय जानकारीमा आएको छ।
त्यसैगरी, माथिल्लो त्रिशूली–ए जलविद्युत् आयोजनासँग सम्बन्धित घटनापछि १० दिनपछि फेला परेका र आईसीयूमा उपचाररत व्यक्तिसँग गरिएको अन्तर्वार्ता युट्युब च्यानलमार्फत प्रसारण भएको विषयमा पनि काउन्सिलको ध्यानाकर्षण भएको जनाएको छ।
यसअघि सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका एक पथप्रदर्शक अस्पतालमा उपचाररत रहेको अवस्थामा आईसीयूबाटै अन्तर्वार्ता लिएर बीबीसी नेपालीले प्रसारण गरेको भिडियो सामग्रीका सम्बन्धमा समेत काउन्सिलको जानकारीमा आएको विज्ञप्तिमा उल्लेख छ।
काउन्सिलले यी घटनासँग सम्बन्धित सामग्रीको पत्रकार आचारसंहिताको दृष्टिले अध्ययन तथा अनुगमन गरिरहेको जनाएको छ। अध्ययनका क्रममा सम्बन्धित सञ्चारकर्मी, सञ्चारमाध्यम, अस्पताल तथा नेपाल मेडिकल काउन्सिलमा समेत पत्राचार गरिएको काउन्सिलले जनाएको छ।
आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिने र त्यस्तो सामग्री सार्वजनिक गर्ने विषयमा बिरामीको स्वास्थ्य अवस्था, गोपनीयता, सहमति तथा मानवीय संवेदनशीलताजस्ता पक्ष जोडिने भएकाले घटनालाई गम्भीरतापूर्वक अध्ययन गरिरहेको काउन्सिलले जनाएको छ।
काउन्सिलले संवेदनशील स्वास्थ्य अवस्थाका व्यक्तिसँग अन्तर्वार्ता लिँदा र सामग्री प्रकाशन तथा प्रसारण गर्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सम्बन्धित सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ। साथै, अस्पताल तथा अन्य सरोकारवाला निकायलाई पनि यस्ता विषयमा आवश्यक संवेदनशीलता अपनाउन सचेत गराएको छ।
प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत तथा सहप्रवक्ता/सूचना अधिकारीद्वारा जारी विज्ञप्तिमार्फत सो जानकारी दिइएको हो।