ललितपुर, २९ साउन । वायु प्रदूषण गरी जनस्वास्थ्यमा असर पारेको आरोपमा ललितपुर महानगरपालिकाले ग्वार्कोस्थित बीएण्डबी अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
स्थानीयवासीले अस्पतालको चिम्नीबाट कालो धुवाँ निस्किएको र त्यसले आसपासको वातावरण तथा स्थानीयको स्वास्थ्यमा प्रत्यक्ष असर पारेको भन्दै भिडियो सार्वजनिक गरेपछि महानगरपालिकाले अनुगमन तथा कारबाही प्रक्रिया अघि बढाएको थियो।
उक्त विषयमा महानगरपालिकाको वातावरण विभागले आवश्यक अध्ययन तथा अनुगमन गरेपछि अस्पताललाई कारबाही गर्ने निर्णय गरेको हो। सोही निर्णयअनुसार ललितपुर महानगर प्रहरी बलको टोली अस्पतालमा पुगेर ५० हजार रुपैयाँ जरिवाना गरेको हो।
महानगर प्रहरी बलले अस्पताललाई जरिवानाको रसिदसमेत उपलब्ध गराएको जनाइएको छ। महानगरपालिकाले वातावरण प्रदूषण नियन्त्रण तथा नागरिकको स्वास्थ्य सुरक्षाका लागि मापदण्ड पालना गर्न स्वास्थ्य संस्थासहित सम्बन्धित सबै पक्षलाई सचेत गराउँदै आएको छ।
यसैबीच, बीएण्डबी अस्पतालमा सञ्चालित इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवासम्बन्धी विषय पनि विवादमा आएको छ। अस्पतालको आईभीएफ केन्द्रमा नाबालिगलाई प्रभावित पारेर डिम्ब निष्कासन गरेको आरोप लागेपछि यस विषयमा सम्बन्धित निकायले छानबिन गरिरहेको छ।
नाबालिगबाट डिम्ब निष्कासन गरिएको आरोपसम्बन्धी उजुरी परेपछि उक्त विषयमा नेपाल प्रहरी र नेपाल मेडिकल काउन्सिलले छुट्टाछुट्टै अनुसन्धान तथा छानबिन गरिरहेको जनाइएको छ। उक्त प्रकरणमा चिकित्सक डा. नुतन शर्मामाथि समेत छानबिन भइरहेको छ।
अस्पतालमाथि वातावरण प्रदूषणसम्बन्धी कारबाही र आईभीएफ सेवासम्बन्धी छानबिन फरक–फरक विषयमा भइरहेका छन्। आईभीएफसम्बन्धी आरोपबारे सम्बन्धित निकायको छानबिनबाट प्राप्त निष्कर्षका आधारमा थप प्रक्रिया अघि बढ्नेछ।