जनकपुरधाम, २९ साउन । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विभागमा करार सेवामा कर्मचारी छनोटका लागि आवेदन आह्वान गरेको छ।
प्रतिष्ठानले सीटीभीएस, प्याथोलोजी, एनेस्थेसिया र मेडिकल सर्जिकल नर्सिङतर्फ गरी ६ जनाका लागि दरखास्त माग गरेको हो।
प्रतिष्ठानका अनुसार सीटीभीएस विभागमा प्रोफेसर, एसोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर वा लेक्चररमध्ये एक पदमा जनशक्ति माग गरिएको छ। त्यसैगरी प्याथोलोजीमा दुई, एनेस्थेसियामा दुई तथा मेडिकल सर्जिकल नर्सिङमा एक पदका लागि आवेदन माग गरिएको छ।
सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित परिषद्मा विशेषज्ञका रूपमा दर्ता भएका नेपाली नागरिकले आवेदन दिन सक्ने प्रतिष्ठानले जनाएको छ।
आवेदन २०८३ साउन २९ देखि भदौ १२ गतेसम्म दिन सकिनेछ। सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनसमेत आवेदन दिन सकिने सूचनामा उल्लेख छ।
प्रतिष्ठानले प्रोफेसर तथा एसोसिएट प्रोफेसर पदका लागि ७० वर्ष ननाघेको र असिस्टेन्ट प्रोफेसर तथा लेक्चररका लागि ४५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ। प्रोफेसर/एसोसिएट प्रोफेसरका लागि परीक्षा दस्तुर १ हजार ५०० रुपैयाँ र असिस्टेन्ट प्रोफेसर/लेक्चररका लागि १ हजार रुपैयाँ तोकिएको छ।
परीक्षा अन्तरवार्ताका माध्यमबाट हुने प्रतिष्ठानले जनाएको छ। परीक्षा समय भने सम्पर्क मितिमा तोकिनेछ।
दरखास्त फाराम प्रतिष्ठानको वेबसाइटबाट डाउनलोड गरी भरिएपछि जनकपुरधाम–१४, स्थित प्रतिष्ठानको कार्यालयमा पेस गर्नुपर्नेछ। परीक्षा दस्तुर लक्ष्मी सनराइज बैंक, भानुचोक, जनकपुरधामस्थित प्रतिष्ठानको खातामा जम्मा गरी सोको भौचरसमेत आवेदनसँग पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
प्रतिष्ठानले पदपूर्तिसम्बन्धी अन्तिम अधिकार प्रतिष्ठानमा निहित रहने जनाएको छ।
हेरौं सूचना: