• आइतबार, १ कात्तिक २०८३
  • images

    कर्णालीका तीन जिल्लामा दादुरा प्रकोप, विद्यालय बन्द

    कर्णालीका तीन जिल्लामा दादुरा प्रकोप, विद्यालय बन्द

    बुधबार, जेठ २० २०८३
    बुधबार, जेठ २० २०८३
    कर्णालीका तीन जिल्लामा दादुरा प्रकोप, विद्यालय बन्द

    सुर्खेत, २० जेठ ।  कर्णाली प्रदेशका सुर्खेत, कालीकोट र जाजरकोट जिल्लामा दादुराको प्रकोप देखिएको छ। 

    संक्रमित बिरामी भेटिएपछि सम्बन्धित जिल्लामा उपचार, खोप र नियन्त्रणका गतिविधि सुरु गरिएको छ।

    images

    जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार सुर्खेतमा तीन जना, जाजरकोटमा चार जना र कालीकोटमा चार जनामा दादुरा पुष्टि भएको हो। भारतबाट फर्किएका तथा विगतमा खोपबाट वञ्चित भएका बालबालिकामा संक्रमण देखिएको बताइएको छ।

    सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौर क्षेत्रमा ज्वरो आएका बिरामीको परीक्षण गर्दा पाँचमध्ये तीन जनामा दादुरा पुष्टि भएको थियो। थप नमुनाहरू पनि पोजेटिभ देखिएपछि संक्रमितलाई घरमै आइसोलेसनमा राखिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य निरीक्षक धनबहादुर बुढाले जानकारी दिनुभयो।

    संक्रमितमध्ये १० महिनादेखि १५ वर्षसम्मका बालबालिका रहेका छन्। खोपबाट छुटेका बालबालिका भारत जाने–आउने क्रमसँग सम्बन्धित हुनसक्ने आशंका गरिएको छ।

    गुर्भाकोट क्षेत्रमा करिब एक हजार तीन सयभन्दा बढी १५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी गरिएको छ। जाजरकोट र कालीकोटमा पनि खोप अभियान विस्तार गरिएको स्वास्थ्य निकायले जनाएको छ।

    जाजरकोटको भेरी नगरपालिका–११ कट्टीगाउँमा दादुरा देखिएपछि प्रभावित क्षेत्रमा पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ। राष्ट्रिय प्रयोगशालाको परीक्षणमा चार जनामा दादुरा पुष्टि भएको हो।

    त्यसैगरी जाजरकोटमा करिब चार हजार बालबालिका र कालीकोटमा पाँच सय बालबालिकालाई खोप लगाउने तयारी गरिएको छ।

    प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिनुका साथै थप फैलिन नदिन निगरानी र सचेतना अभियान सञ्चालन भइरहेको छ।

    सरकारले सन् २०२६ भित्र दादुरा निवारण गर्ने लक्ष्य लिएको भए पनि पुनः प्रकोप देखिनुले चुनौती थपिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार