• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    महानिर्देशकको निर्णय विवादमा तानिएपछि मन्त्रालयद्वारा उच्चस्तरीय समिति गठन

    महानिर्देशकको निर्णय विवादमा तानिएपछि मन्त्रालयद्वारा उच्चस्तरीय समिति गठन

    ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

    शनिबार, चैत २८ २०८२
    शनिबार, चैत २८ २०८२
    महानिर्देशकको निर्णय विवादमा तानिएपछि मन्त्रालयद्वारा  उच्चस्तरीय समिति गठन

    काठमाडौं, २८ चैत । औषधिको मूल्य वृद्धि सम्बन्धी विवाद चर्किएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले प्रचलित कानुनी प्रक्रिया पूरा नगरी औषधिको मूल्य समायोजन गरेको भन्ने उजुरी परेपछि सरकार छानबिनमा उत्रिएको हो।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि मन्त्रालयले गठन गरेको उक्त समितिलाई औषधि मूल्य निर्धारणको सम्पूर्ण प्रक्रिया अध्ययन गर्ने जिम्मेवारी दिइएको छ। 

    समितिले मूल्य निर्धारण गर्दा कानुनी मापदण्ड पालना गरिएको थियो वा थिएन, प्रक्रियागत त्रुटि भए नभएको, तथा सम्भावित अनियमिततामा को को संलग्न हुन सक्ने छन् भन्ने विषयमा विस्तृत अनुसन्धान गर्नेछ।

    समितिलाई आवश्यक कागजात अध्ययन, सम्बन्धित पक्षसँग सोधपुछ तथा तथ्य संकलन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

    अतिरिक्त स्वास्थ्य सचिव डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठन गरिएको समितिमा कानून शाखा प्रमुख गोपीकृष्ण रेग्मी र विषय विज्ञ कविन मलेकु सदस्यका रूपमा हुनुहुन्छ । 

    आवश्यक ठानेमा समितिले अन्य विज्ञ वा सम्बन्धित कर्मचारीलाई पनि छलफलमा बोलाउन सक्ने व्यवस्था गरिएको छ।

    मन्त्रालयका अनुसार यो समिति मन्त्रीस्तरीय निर्णयमार्फत गठन गरिएको हो। औषधि मूल्य निर्धारण जस्तो संवेदनशील विषयमा पारदर्शिता कायम गर्ने, प्रक्रियागत उत्तरदायित्व सुनिश्चित गर्ने तथा सम्भावित त्रुटि सुधार गर्ने उद्देश्यले छानबिन अघि बढाइएको स्पष्ट गरिएको छ।

    पछिल्लो समय औषधिको मूल्य वृद्धि सम्बन्धी निर्णयलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठ्दै आएका थिए। यही सन्दर्भमा तथ्यपरक निष्कर्ष निकाल्न सरकार औपचारिक रूपमा अनुसन्धान प्रक्रियामा अघि बढेको हो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार