काठमाडौँ, २५ चैत । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आगामी शुक्रबारदेखि काठमाडौँमा सुरु हुने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १२ औँ शिखर सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।
परिषद्ले आफ्नो स्थापना दिवसको अवसरमा सन् २०१५ देखि निरन्तर रूपमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलन आयोजना गर्दै आएको छ।
सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो। उहाँका अनुसार यसपटक पनि सम्मेलन सोल्टी होटलमा आगामी शुक्रबारदेखि आइतबार (२७ देखि २९ चैत) सम्म सञ्चालन हुनेछ।
उहाँले सम्मेलन उद्घाटनका लागि प्रमुख अतिथिका रूपमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव आउने जानकारी गराउनुभयो ।
यसपटक सम्मेलनको मुख्य नारा “नेपालमा स्वास्थ्य अनुसन्धान सुशासनका लागि प्रमाणमा आधारित निर्णय तथा कार्यान्वयन प्रक्रिया” रहेको छ ।
‘यस सम्मेलनले राष्ट्रिय तथा विश्वव्यापी स्वास्थ्य चुनौतीहरूको समाधानका लागि अनुसन्धान, नीति र अभ्यासबीचको सम्बन्ध सुदृढ पार्नुको महत्त्व उजागर गर्दछ,’ डा.जोशीले भन्नुभयो।
उहाँले नीति निर्माता, अनुसन्धानकर्ता, विश्वविद्यालय, स्वास्थ्य क्षेत्रका उद्यमी तथा विकास साझेदारहरूलाई एउटै मञ्चमा ल्याई विचार, अनुभव र नवीनतम प्रमाण साझा गर्ने, छलफल गर्ने तथा जिम्मेवार अनुसन्धान संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य रहेको बताउनुभयो।
डा जोशीले सम्मेलनमा १२०० भन्दा बढी राष्ट्रिय सहभागी तथा केही अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहने बताउनुभयो। उहाँका अनुसार बेलायत, अमेरिका, भारत, फिलिपिन्स, अष्ट्रेलिया, कोरिया तथा युरोपका प्रतिनिधिहरू सहभागी हुनेछन्।
यद्यपि मध्यपूर्व क्षेत्रमा बढेको तनावका कारण गत वर्षको तुलनामा यसपटक अन्तर्राष्ट्रिय सहभागीहरूको संख्यामा केही कमी हुने उहाँले बताउनुभयो।
उहाँका अनुसार सम्मेलनका लागि कुल ४६५ वटा एब्स्ट्याक प्राप्त भएका थिए, जसबाट ९१ वटा मौखिक तथा १२० वटा पोस्टर प्रस्तुतीकरणका लागि छनोट गरिएको छ।
सम्मेलनमा एउटा पूर्ण सत्र, ३५ वटा आमन्त्रित प्रस्तुतीकरण, १२ वटा समानान्तर सत्र तथा पाँचवटा प्यानल छलफलहरू समावेश गरिएको उहाँले बताउनुभयो।
मुख्य सत्रमा प्रमाणमा आधारित निर्णय प्रक्रियाका लागि स्वास्थ्य अनुसन्धान सुशासनमा केन्द्रित प्रस्तुति तथा छलफल हुने बताइएको छ भने समानान्तर सत्रहरूमा विभिन्न विषय समेटिनेछन्।
उहाँका अनुसार ती सत्रहरूमा नसर्ने रोग, प्रजनन स्वास्थ्य, मातृ, नवजात तथा बाल स्वास्थ्य र परिवार नियोजन, स्वास्थ्य प्रविधि तथा कृत्रिम बुद्धिमत्ता, मानसिक स्वास्थ्य, स्वास्थ्य सुशासन, स्वास्थ्य वित्त तथा जनशक्ति, संक्रामक रोग, महामारी तयारी तथा विपद् व्यवस्थापन तथा चिकित्सकीय विज्ञानजस्ता विषयहरू समेटिनेछन्।
यस्तै, आयुर्वेद तथा परम्परागत चिकित्सा, सर्वव्यापी स्वास्थ्य पहुँच, वातावरणीय तथा पेशागत स्वास्थ्य, जलवायु परिवर्तन, एक स्वास्थ्य अवधारणा, स्वास्थ्य सेवा पहुँचमा असमानता, स्वास्थ्यका सामाजिक निर्धारक, स्वास्थ्य शिक्षा तथा प्रवर्द्धन, पोषण तथा खाद्य सुरक्षा, बसाइँसराइ र स्वास्थ्य, जनस्वास्थ्य तथा जनसांख्यिकी, ज्येष्ठ नागरिक स्वास्थ्य तथा औषधिमा पहुँच लगायतका विषयमा पनि प्रस्तुति रहने छ ।
उहाँले यी समानान्तर सत्रहरूमा छनोट भएका एब्स्ट्याकहरूको मौखिक प्रस्तुति हुने तथा विभिन्न क्षेत्रका आमन्त्रित वक्ताहरूको विषयगत प्रस्तुति समेत रहने जानकारी दिनुभयो।
सम्मेलनका क्रममा स्वास्थ्य अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरूलाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिने छ ।
जोशीका अनुसार यस वर्ष ११ विधामा अवार्ड प्रदान गरिनेछ।
तीमध्ये जेएनएचआरसी बेष्ट रिसर्च पेपर अवार्ड, हेल्थ रिसर्चर अवार्ड, योङ हेल्थ रिसर्चर अवार्ड, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट योङ हेल्थ रिसर्च अवार्ड (मेडिकल डाक्टरतर्फ), लाइफटाइम अचिभमेन्ट अवार्ड, बेस्ट ओरल प्रिजेन्टेसन अवार्ड, बेस्ट पोस्टर प्रिजेन्टेसन अवार्ड, एनएचआरसी बेष्ट परफरमेन्स अवार्ड, एनएचआरसी बेष्ट सेक्सन अवार्ड, स्वास्थ्य अनुसन्धान पत्रकारिता पुरस्कार तथा एनएचआरसी दीर्घ सेवा पदक समावेश रहेका छन् ।