• बिहीबार , २९ असोज २०८३
  • images
    images

    दीपककुमार साहः स्वास्थ्य क्षेत्र हुँदै श्रममन्त्रीसम्म  

    दीपककुमार साहः स्वास्थ्य क्षेत्र हुँदै श्रममन्त्रीसम्म  

    शुक्रबार, चैत १३ २०८२
    शुक्रबार, चैत १३ २०८२
    दीपककुमार साहः स्वास्थ्य क्षेत्र हुँदै श्रममन्त्रीसम्म  

    काठमाडौँ, १३ चैत । दृष्टि विशेषज्ञका रूपमा स्वास्थ्य क्षेत्रमा स्थापित पहिचान बनाइसक्नुभएका दीपककुमार साह अब देशको श्रम, रोजगार तथा सामाजिक सुरक्षा क्षेत्रको नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुग्नुभएको छ।

     उहाँलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउने निर्णयसँगै स्वास्थ्य क्षेत्रबाट राजनीतिमा प्रवेश गरेर छोटो समयमा नै उच्च पदमा पुग्ने व्यक्तित्वका रूपमा उहाँको चर्चा व्यापक रूपमा हुन थालेको छ।

    images

    महोत्तरी निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका साहले आफ्नो पहिलो निर्वाचनमै प्रभावशाली उपस्थिति देखाउनुभएको थियो।

     उहाँले अनुभवी नेता तथा पूर्व श्रममन्त्री शरतसिंह भण्डारीलाई समेत पछि पार्दै तेस्रो स्थानमा धकेल्न सफल हुनुभएको परिणामले उहाँको राजनीतिक उभारलाई संकेत गरेको थियो। यो विजय केवल निर्वाचन जिताइ मात्र नभई नयाँ पुस्ताको उदय र पेशागत पृष्ठभूमिबाट राजनीतिमा आएको परिवर्तनको प्रतीकका रूपमा समेत हेरिएको छ।

    पेशागत रूपमा दृष्टि विशेषज्ञ रहनुभएका साह स्वास्थ्य सेवा क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ। बिरामीप्रतिको संवेदनशीलता, सेवा भाव र व्यावसायिक निष्ठाले उहाँलाई सहकर्मी तथा सेवाग्राहीबीच लोकप्रिय बनाएको थियो। यही सक्रियता र नेतृत्व क्षमताको आधारमा उहाँ केही महिना अघि मात्र नेपाल दृष्टि विशेषज्ञ संघको केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो। उक्त निर्वाचनमा उहाँले भारी मत प्राप्त गर्दै आफ्नो संगठनात्मक क्षमता पनि प्रमाणित गर्नुभएको थियो।

    स्वास्थ्य क्षेत्रमै सीमित नरही उहाँ सामाजिक कार्यहरूमा पनि उत्तिकै संलग्न रहँदै आउनुभएको छ। विशेषगरी विपन्न तथा ग्रामीण समुदायमा स्वास्थ्य सचेतना, निःशुल्क सेवा तथा जनहितका कार्यक्रमहरू सञ्चालन गर्दै उहाँले समाजमा सकारात्मक प्रभाव पार्नुभएको छ। यही सामाजिक सक्रियता नै उहाँको राजनीतिक यात्राको बलियो आधार बनेको देखिन्छ।

    अब मन्त्रीको रूपमा उहाँसामु ठूलो जिम्मेवारी आएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुलुकको आर्थिक तथा सामाजिक संरचनासँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील क्षेत्र हो। वैदेशिक रोजगारीमा जाने युवाहरूको सुरक्षा, स्वदेशमै रोजगारी सिर्जना, श्रमिक अधिकारको संरक्षण तथा सामाजिक सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयन जस्ता विषयहरू उहाँका प्राथमिक एजेण्डा बन्ने अपेक्षा गरिएको छ।

    विशेषगरी वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकहरूले भोग्दै आएका समस्या समाधान गर्ने, सुरक्षित र व्यवस्थित श्रम बजार निर्माण गर्ने तथा श्रमिकमैत्री नीति ल्याउने विषयमा उहाँबाट ठोस पहल हुने विश्वास गरिएको छ। स्वास्थ्य क्षेत्रबाट आएको अनुभवले श्रमिकहरूको स्वास्थ्य सुरक्षा र सामाजिक सुरक्षामा नयाँ दृष्टिकोण ल्याउन सक्ने अपेक्षा पनि गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार