• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    दशौँ नेपाल फर्मा एक्स्पो बिहीबारदेखि सुरू हुने

    दशौँ नेपाल फर्मा एक्स्पो बिहीबारदेखि सुरू हुने

     दुईसय स्टल रहने, प्रवेश निःशुल्क 

    बुधबार, फागुन २७ २०८२
    बुधबार, फागुन २७ २०८२
    दशौँ   नेपाल  फर्मा एक्स्पो बिहीबारदेखि सुरू हुने

    काठमाडौं, २७ फागुन। दशौँ नेपाल फर्मा एक्स्पो भोली (बिहीबार)देखि काठमाडौँको  भृकुटीमण्डपमा सुरू हुने भएको छ ।

    नेपाली औषधि क्षेत्रको आधुनिक रूपान्तरणलाई उजागर गर्ने लक्ष्यसहित नेपाल औषधि उत्पादक संघले (एपोन)ले उक्त एक्स्पोको आयोजना गर्न लागेको हो ।

    एक्स्पोका संयोजक सन्तोष बरालले एक्स्पोमा २०० भन्दा बढी स्टलहरू रहने छन्, जसमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ्ग उत्पादक र मेसिनरीहरूको प्रदर्शन प्रमुख रूपमा रहने जानकारी दिनुभयो । 

    बरालका अनुसार एक्स्पोमा ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहने छन् । 

    नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले प्रदर्शित वस्तु तथा सेवाले कच्चा पदार्थ, प्याकिङ सामग्री र नयाँ प्रविधिको क्षेत्रमा विश्वबजारमा आएका नवीनतम प्रविधिलाई नेपाली बजारसँग जोड्ने दाबी गर्नुभयो । बाँकी १० प्रतिशत स्टलहरूमा स्वदेशी औषधि उद्योगका उत्कृष्ट उत्पादनहरू प्रदर्शन गरिने छ । यो एक्स्पो केवल प्रदर्शनी मात्र नभई नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने एउटा बलियो खुड्किलो पनि भएको अध्यक्ष अधिकारीको भनाइ छ । 
    ‘हामीले हिजोका दिनमा गरेका अनुसन्धान र आविष्कारहरू आजको औषधि उद्योगको आधार हुन् । आजको हाम्रो नवीन सोच र प्रविधिमा गरिने लगानीले नै भोलिको स्वस्थ नेपालको भविष्य सुनिश्चित गर्नेछ,’ अध्यक्ष अधिकारीले भन्नुभयो । 

    एक्स्पोमार्फत सरोकारवाला र आम सर्वसाधारणलाई नेपालमै विश्वस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास दिलाउने उद्देश्य रहेको संघका महासचिव सन्तोष बरालले बताउनुभयो । उहाँका अनुसार औषधि क्षेत्रको ज्ञान लिन चाहने जो–कोहीका लागि प्रवेश निःशुल्क गरिएको छ ।

    यस पटकको एक्स्पोलाई संघले छुट्टै उत्सवका रूपमा मनाउँदै विभिन्न पूर्व–कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको एक्स्पोका  मिडिया को–अर्डिनेटर शैलेश वैद्यले जानकारी दिनुभयो ।

    वैद्यले प्राविधिक पक्षलाई अझ सुदृढ बनाउन एक्स्पोको एक दिन अगाडि आज नेपाली औषधि उद्योगमा कार्यरत क्वालिटी कन्ट्रोलका फर्मासिस्टहरूलाई अन्तर्राष्ट्रिय स्तरका प्राविधिकहरूले गुणस्तरसम्बन्धी विशेष सेमिनार प्रदान गरिएको छ ।


    एक्स्पोको उद्घाटनको दिन भोलि बिहान ८ बजे भव्य प्रभातफेरि गरी कार्यक्रमको औपचारिक सुरुवात गर्ने तयारी छ । एक्स्पो आगामी शनिबारसम्म सञ्चालन हुने छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार