काठमाडौं, २६ असोज । पर्सा जिल्लामा आजदेखि (आइतबार) हैजाविरुद्धको खोप अभियान सुरु भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीले स्वास्थ्यकर्मीको हातबाट खोप सेवन गरी अभियानको औपचारिक शुभारम्भ गर्नुभयो ।
पर्सा र बारा जिल्लामा फैलिएको हैजा नियन्त्रणका लागि खोप अभियानको सुरुवात गरिएको हो ।
प्रजिअ सुवेदीले खोप सेवन गर्न योग्य सबै उमेर समूहका व्यक्तिलाई खोप लगाएर आफू र परिवारलाई सुरक्षित राख्न आग्रह गर्नुभयो ।
स्वास्थ्य कार्यालय पर्साका अनुसार हैजा विरुद्ध खोप अभियान असोज २६ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ।
यस अवधिमा पर्सा जिल्लाका ६ लाख ५४ हजार जनालाई इयूभिकोल–एस खोप लगाइने लक्ष्य छ। खोप १ वर्षभन्दा माथिका सबै व्यक्तिलाई दिइनेछ। अभियानलाई प्रभावकारी बनाउन जिल्लाका १४ वटै पालिकामा १,९५० वटा खोप केन्द्र स्थापना गरिएको छ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले दिएको जानकारी अनुसार यो अभियान पर्सा जिल्लाका सबै १४ वटा स्थानीय तहहरू र बारा जिल्लाका ६ वटा स्थानीय तहहरूमा सञ्चालन गरिनेछ।
परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले हैजाको महामारीका साथै हालैको वर्षापछि आएको बाढीका कारण ती क्षेत्रमा हुनसक्ने उच्च जोखिमलाई ध्यानमा राखेर यो खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो।
बारा जिल्लाका कलैया उप-महानगरपालिका, जितपुर-सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकामा यो अभियान सञ्चालन गरिनेछ।
गत भदौ ६ गते पर्साको वीरगन्जबाट हैजा फैलिएकोमा हालसम्म बारा र पर्सामा गरी १ हजार ६ सय ८५ हैजाका केसहरू पुष्टि भएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उक्त हैजा 'ओवान सेरोग्रुप'को रहेको पुष्टि गरिसकेको छ।