मध्यरातमा भारतबाट बिरामी लिएर भट्टेडाँडा आइपुगेको एम्बुलेन्समा ९४ हजार ८० ट्याब्लेट लागुऔषध ट्रामाडोल फेला
काठमाडौँ, २३ चैत । भारतीय नम्बर प्लेटको एम्बुलेन्समा ठुलो परिमाणमा लागूऔषध बरामद भएको छ ।
ललितपुरको भट्टेडाँडा चेकप्वाइन्टमा खटिएका प्रहरीले शनिबार बिहान पौने २ बजेतिर उक्त लागूऔषध बरामद गरेको हो ।
राति एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्न खोजेपछि एम्बुलेन्स चालक २२ वर्षीय मोहम्मद उमर सिद्दिकी स्टेरिङ छाडेर दौडिएपछि प्रहरीले लागू औसध बरामद गरेको हो । सिद्दिकी भारतीय नागरिक हुनुहो।
भारतीय नम्बर प्लेटको एम्बुलेन्स भारतबाट नै आएको थियो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले चालक भागेपछि प्रहरीले त्यसमा अवैध सामान ल्याएको शङ्का लागेपछि चेकजाँच गर्दा बिआर–०५ पिए–०४२१ नम्बरको एम्बुलेन्समा ९४ हजार ८० ट्याब्लेट लागुऔषध ट्रामाडोल फेला परेको जानकारी दिनुभयो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र एसएसपी अधिकारीले पत्रकार सम्मेलन मार्फत उक्त घटनाबारे जानकारी दिनुभएको हो ।
बिहारस्थित रक्सौलबाट ४५ वर्षीया नोर्जान खातुन उपचार गराउन नेपाल आउँदै हुनुहुन्थ्यो । साथमा दुई जना बच्चा पनि छन् । कागजात परीक्षण गर्दा नोर्जान उपचार गराउन नेपाल आएको खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीले जानकारी दिनुभयो ।
एम्बुलेन्सका मालिक भारत मोतिहारीका ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी, मोतिहारी घर भएका २० वर्षीय समिर आलम र चालक २२ वर्षीय मोहम्मद उमर सिद्दिकी लाई प्रहरीले सार्वजनिक गरेको छ । चेक प्वाइन्टबाट भागेका चालक सिद्दिकीलाई शनिबार बिहान साढे ६ बजेतिर कान्ति लोकपथको छपेलीबाट पक्राउ गरिएको थियो ।