• सोमबार, २ कात्तिक २०८३
  • images

    भरतपुर अस्पताललाई बिरामीको चाप धान्नै मुस्किल

    भरतपुर अस्पताललाई बिरामीको चाप धान्नै मुस्किल

    हेल्दीखबर
    आइतबार, चैत २६ २०७९
    हेल्दीखबर
    आइतबार, चैत २६ २०७९
    भरतपुर अस्पताललाई बिरामीको चाप धान्नै मुस्किल


    भरतपुर, २६चैत । भरतपुर अस्पतालमा बिरामीको चाप बढिरहेकोले बिरामीको बढ्दो चापलाई धान्न जनशक्ति र पूर्वाधार पर्याप्त नरहेको बताइएको छ। 
    अस्पतालको ६७ औँ वार्षिकोत्सवमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेललेसरकारी अस्पतालले दिने सेवा सुविधा प्रभावकारी हुनुपर्ने बताउनुभयो । उहाँले धेरै अस्पताल खोल्नेभन्दा पनि भएका अस्पतालबाट प्रभावकारी सेवा दिनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । 

    सरकारी अस्पतालमा सेवा वृद्धि गर्न आवश्यक कर्मचारी अस्पतालले राख्न पाउने गरी मन्त्रालयले व्यवस्थापन गर्न लागेको उहाँको भनाई छ । अहिले बिरामी धेरै आए भनेर डराउने होइन, गुणस्तरीय सेवा कसरी दिने भन्ने विषय महत्वपूर्ण हो,उहाँले भन्नुभयो,“भरतपुर अस्पताललाई सरकारले पाँच सय शय्याको अस्पताल सञ्चालनका लागि अनुमति दिइसकेको छ ।” 

    images

    अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.कृष्णप्रसाद पौडेलले अस्पतालमा बिरामीको चाप बढेको बताउनुभयो । उहाँले हालको जनशक्ति र अस्पतालको स्रोतसाधनका आधारमा बिरामीको  चाप थेग्न गाहे भएको बताउनुभयो । 
    बिरामीको बढ्दो चाप थेग्न एक हजार ८७ स्वास्थ्यकर्मी र कर्मचारी आवश्यक रहेको भन्दै उहाँले अस्पतालमा नौ सय मात्रै कर्मचारी रहेको जानकारी गराउनुभयो । 

    डा.पौडेलका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा भरतपुर अस्पतालमा दुई लाख ८० हजार ५११ जना बिरामीको उपचार भएको बताउनुभयो। सोही आर्थिक वर्षमा अस्पतालको ओपीडीमा दुई लाख ५२ हजार ८९४ र आकस्मिक तर्फबाट २७ हजार ६१७ बिरामीको उपचार भएको हो। सो अस्पतालमा आव २०७७÷७८ मा एक लाख ७१ हजार १३ र २०७६र७७ मा दुई लाख ५२ हजार ६९ जना बिरामीले उपचार गराएका छन्। 
     अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.पौडेलले बढ्दो जनसङ्ख्या र बिरामी चापलाई ध्यानमा राखेर अस्पतालको जनशक्ति र भौतिक संरचना सुधार गर्नुपर्ने बताउनुभयो । 
    कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यसचिव बद्रीबहादुर खड्काले सरकारी अस्पताल गरिब निमुखाको अस्पतालका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । बागमती प्रदेशको रिफरल अस्पतालका रूपमा रहेको भरतपुर अस्पतालको विकासमा प्रदेश सरकार रहेको जनाउँदै उहाँले यस अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्न सकारात्मक रहेको बताउनुभयो । अहिले विसं २०५१ को ‘ओएनएम सर्भे’अनुसार अस्पतालहरूमा कर्मचारी कम भएकाले सेवा प्रभावकारी बनाउन नसकिएको बताउनुभयो।

    अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले अस्पताललाई  शैक्षिक प्रतिष्ठानका रूपमा अगाडि बढाउन थालिएको बताउनुभयो। बढ्दो बिरामीको चाप थेग्नलाई अस्पताललाई शैक्षिक केन्द्रका रूपमा अगाडि बढाउन जरुरी रहेको उहाँको भनाई छ । 

    नेपाल सरकारका तर्फबाट शैक्षिक प्रतिष्ठान सञ्चालनका लागि भरतपुर अस्पतालले अनुमति पाइसकेको र अब ऐन–नियम बनाएर छिटोभन्दा छिटो शैक्षिक प्रतिष्ठान सञ्चालन गर्ने तयारीमा रहेको उहाँको भनाई छ । 

     कार्यक्रममा  सचिव डा.रोशन पोख्रेलले विभिन्न क्षेत्रमा उत्कृष्ट सेवा दिने कर्मचारी, पूर्वव्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यलगायतलाई सम्मान गर्नुभयो । 

    वि.सं. २०१३ चैत २५ गते ‘हेल्थपोस्ट’का नाममा स्थापना भएको भरतपुर अस्पताल अहिले छ सय शय्या सञ्चालनमा रहेको छ।    

    प्रतिक्रिया दिनुहोस
    थप समाचार