• सोमबार, २ कात्तिक २०८३
  • images

    भरतपुर अस्पतालमा विरामीको चाप धान्न कठिन

    भरतपुर अस्पतालमा विरामीको चाप धान्न कठिन

    हेल्दीखबर
    आइतबार, जेठ २२ २०७९
    हेल्दीखबर
    आइतबार, जेठ २२ २०७९
    भरतपुर अस्पतालमा विरामीको चाप धान्न कठिन

    चितवन। स्वास्थ्य बिमा कार्यक्रमलाई स्थानीय पालिकाले प्राथमिकतामा राखेर विमित गराउँदा त्यसको असर भरतपुर अस्पतालमा परेको छ । नव निर्वाचित पालिका प्रमुख र विगतका पालिका प्रमुखहरुले आफ्नो कार्य क्षेत्रमा रहेका सेवाग्राहीलाई विमित कार्यक्रम प्राथमिकतामा राखेका थिए । चितवन बाहिर पनि यो कार्यक्रम जोडतोडकासाथ जनप्रतिनिधिले राखेका छन् । विमा गरेकाहरु उपचारका लागि भरतपुर अस्पताल आउने गरेका छन् ।  
    भरतपुर अस्पतालमा क्षमता वृद्धि नगर्दा विमितहरुको चापलाई धान्न नसकिने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले अहिलेकै जनशक्ति स्रोत साधनबाट सेवा दिन सक्ने अवस्था नरहेको बताउनुभयो । ‘विमा गर्नेहरुको संख्या हरेक वर्ष वृद्धि हुने तर अस्पतालको क्षमता वृद्धि गर्न स्थानीय सरकारले ध्यान नदिने हो भने समस्या आउनेछ’ उहाँले भन्नुभयो ।
    अस्पतालमा सरकारले १५० शैयाका लागि १७५ जना दरवन्दी दिएको छ । यो जनशक्तिले नपुगेर अस्पताल विकास समितिले स्रोत साधनले धान्नेगरी थप ४५० शैया वृद्धि गरेर ६०० शैया पु¥याएको छ । थपेको शैयाका लागि अस्पताल विकास समितिले आफ्नै खर्चमा अहिले व्यवस्थापन गर्दैआएको छ । 
    ‘यो केन्द्रीय अस्पताल हो तर सेवा सुविधा र यहाँको जनशक्ति भने पुरानै रहेको छ । अस्पताल केन्द्रीय भयो तर यसलाई हेर्ने दृष्टिकोण केन्द्रीय भएको छैन’ मेडिकल सुपरिटेन्डेन्ट पौडेलले भन्नुभयो । 
    ‘विमा कार्यक्रम राम्रो हो तर यही शैलीबाट अगाडि बढेमा हामीले धान्न सक्दैनौ । जिल्लाका पालिकामा अस्पताल छन् तर सामान्य उपचार हुन्छ जटिल प्रकारका रोग, थप उपचार गराउन पर्दा भरतपुर अस्पताल रोज्ने गरेकाले हामीलाई सेवा दिन जटिल बन्दै गएको छ’ उहाँले भन्नुभयो । 
    चितवनसहित मकवानपुर, नवलपरासी, गोरखा, धादिङ, रुपन्देही, रौतहट, वारा, पर्सालगायतका जिल्लाबाट उपचार गराउन विरामीहरु भरतपुर आउनेगरेका छन् । यी सबै जिल्लाका विरामीलाई उपचार सेवा दिंदा अहिले भएको स्रोत साधनले काम गर्न नसक्ने अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले बताउनुभयो । 
    अस्पतालका अनुसार यहाँ दैनिक ओपीडीमा १५ सयदेखि माथिले टिकट काट्ने गरेका छन् । विहान ७ बजेदेखि १२ः३० बजेसम्म टिकट काउण्टर खुला गरिएको छ । पाँचवटा काउण्टरबाट टिकट काट्ने व्यवस्था हुँदा समेत एक दिनमा उपचार गराएर जान सकिने अवस्था नभएको सेवाग्राहीले बताउनेगरेका छन् । 
    पालिकाहरुले विपन्न गरिवलाई विमा निःशुल्क कार्यक्रम ल्याएका छन् । यो सँगै वृद्ध असहाय, दलित, निश्चित वर्ग लगायतलाई विमा गर्दैआएको छ । विमा कार्यक्रमलाई पालिकाले प्राथमिकता दिंदा विरामी उपचारका लागि भरतपुर अस्पताल आउनेगरेका छन् । 
    कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले गरिब विपन्नलाई पालिकाले निःशुल्क विमा गरिदिने योजना बनाएको बताउनुभयो । पालिकामा नै अस्पताल भएकाले सामान्य विरामीको लागि भरतपुर जानुपर्ने वाध्यता नभएको उहाँको भनाई छ ।
    (गोरखापत्र अनलाइनबाट)

    प्रतिक्रिया दिनुहोस
    थप समाचार