व्यवसायीलाई दोष देखाएको भन्दै आपत्ति
काठमाडौँ, ८ असोज । औषधी व्यवस्था विभागले बजारबाट फिर्ता गर्न निर्देशन दिएको ‘ग्लिपिड–१’ को गुणस्तरसम्बन्धी विवादमा औषधी उत्पादक कम्पनी र व्यवसायीबीच आरोप–प्रत्यारोप देखिएको छ। उत्पादक कम्पनी टाइम फर्मास्युटिकल्सले आफ्नो उत्पादनमा तोकिएको गुणस्तर कायम रहेको दाबी गर्दै विभागलाई दिएको जवाफमा औषधीको भण्डारण तथा व्यवस्थापनका कारणसमेत गुणस्तरमा असर पर्न सक्ने उल्लेख गरेपछि औषधी व्यवसायीले आपत्ति जनाएका हुन्।
नेपाल औषधी व्यवसायी सङ्घले बिहीबार विज्ञप्ति जारी गर्दै उत्पादक कम्पनीले आफ्नो प्राविधिक दायित्वबाट पन्छिएर औषधीका थोक तथा खुद्रा विक्रेता, अस्पताल तथा स्वास्थ्य संस्थालाई दोषको भागीदार बनाउने प्रयास गरेको भन्दै त्यसको विरोध गरेको छ।
सङ्घका अध्यक्ष प्रकाश खण्डेलवाल र महासचिव श्रीधर खनालद्वारा जारी विज्ञप्तिमा उत्पादक कम्पनीको उक्त दाबी तथ्यगत आधारबिनाको रहेको उल्लेख गर्दै तत्काल सच्याउन माग गरिएको छ।
औषधी व्यवस्था विभागले गत १ असोजमा बजार अनुगमनका क्रममा सङ्कलन गरिएको ‘ग्लिपिड–१’ को नमुना परीक्षण गर्दा औषधीमा हुनुपर्ने घुलनशीलता परीक्षणमा निर्धारित मापदण्ड पूरा नभएको जनाएको थियो। परीक्षणमा असफल भएको भन्दै विभागले सम्बन्धित कम्पनीलाई उक्त उत्पादन बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो।
विभागको निर्देशनपछि टाइम फर्मास्युटिकल्सले सोही ब्याचको औषधी पुनः परीक्षण गर्दा आवश्यक गुणस्तर कायम रहेको दाबी गरेको थियो। कम्पनीले विभागलाई पत्र पठाउँदै बजारबाट औषधी फिर्ता गर्न आवश्यक नरहेको जिकिर गर्नुका साथै उक्त ब्याचलाई गुणस्तरहीन भनिएको निष्कर्ष पुनर्विचार गर्न आग्रह गरेको थियो।
कम्पनीले विभागलाई पठाएको पत्रमा उत्पादनपछि औषधीको ढुवानी, भण्डारण तथा व्यवस्थापनका क्रममा आवश्यक मापदण्ड पालना नभएमा औषधीको गुणस्तरमा असर पर्न सक्ने आशय व्यक्त गरेको थियो। सोही विषयमा औषधी व्यवसायी सङ्घले आपत्ति जनाएको हो।
सङ्घले कुनै तथ्यगत आधारबिना थोक तथा खुद्रा व्यवसायीलाई गुणस्तरसम्बन्धी समस्याको भागीदार बनाउनु उचित नभएको जनाएको छ। उत्पादनको गुणस्तर कायम गर्ने विषयमा उत्पादक कम्पनीको जिम्मेवारी स्पष्ट हुनुपर्ने सङ्घको भनाइ छ।
सङ्घले विभागको परीक्षण प्रतिवेदन र उत्पादक कम्पनीको पुनः परीक्षणबाट आएको दाबीबीच फरक देखिएको अवस्थामा विवादलाई निष्कर्षमा पु¥याउन स्वतन्त्र प्रयोगशालाबाट वैज्ञानिक अनुसन्धान गर्न माग गरेको छ। अनुसन्धानबाट औषधीको गुणस्तरमा समस्या देखिनुको वास्तविक कारण कच्चा पदार्थ, उत्पादन प्रक्रिया, प्याकेजिङ, ढुवानी वा भण्डारणमध्ये कुन पक्षमा रहेको हो भन्ने स्पष्ट पार्नुपर्ने सङ्घको माग छ।
त्यसैगरी, उत्पादनस्थलदेखि उपभोक्तासम्म औषधीको सुरक्षित ढुवानी तथा उचित भण्डारणको व्यवस्था सुनिश्चित गर्न सम्बन्धित सबै पक्ष जिम्मेवार हुनुपर्ने सङ्घले जनाएको छ।
औषधी फिर्ता गर्ने निर्णय गर्दा नियामक निकायले वैज्ञानिक परीक्षण, निष्पक्ष अनुसन्धान, सम्बन्धित पक्षसँग समन्वय र पारदर्शी संवादलाई आधार बनाउनुपर्ने सङ्घको माग छ।
सङ्घले औषधीको गुणस्तरसम्बन्धी विषयमा एक–अर्कालाई दोषारोपण गर्नेभन्दा उत्पादनदेखि उपभोक्तासम्मको समग्र आपूर्ति व्यवस्थालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएको छ। औषधीको गुणस्तर र उपभोक्ताको सुरक्षालाई केन्द्रमा राखेर उत्पादक, व्यवसायी, अस्पताल तथा स्वास्थ्य संस्था र नियामक निकायबीच जिम्मेवार सहकार्य आवश्यक रहेको सङ्घले जनाएको छ।
यस विषयमा औषधी व्यवस्था विभागले भने हालसम्म आफ्नो पछिल्लो औपचारिक धारणा सार्वजनिक गरेको छैन ।