काठमाडौँ, ६ असोज । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा ११ लाख ११ हजार १११ रुपियाँ सहयोग गरेको छ।
भोटेकोशी नदीमा गत १० भदौमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले परिषद्ले उक्त रकम प्रदान गरेको हो।
परिषद्का अध्यक्ष सगुन पौडेल, रजिस्ट्रार रमेश श्रेष्ठ, सदस्य वसन्त श्रेष्ठ लगायत पदाधिकारी तथा कर्मचारीको टोलीले सोमबार सिंहदरबार पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।
परिषदका रजिष्ट्रार रमेश श्रेष्ठले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय परिषद्ले गरेको जानकारी दिनुभयो ।
उहाँले परिषदको निर्णय अनुसार परिषदमा दर्ता भएका स्वास्थ्यकर्मीबाट प्राप्त शुल्क तथा कोषमा रहेको रकमबाट सहयोग गरिएको बताउनुभयो ।
परिषद्ले राहत कोषमा सहयोग गर्न सक्ने अवस्था परिषद्मा दर्ता भएका स्वास्थ्यकर्मीको योगदानबाट सम्भव भएको उल्लेख गर्दै सहयोगका लागि दर्ता भएका सम्पूर्ण स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेको छ।
सरकारले भोटेकोशी बाढीपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। सरकारको उक्त आह्वानपछि विभिन्न सरकारी निकाय, निजी क्षेत्र, सङ्घसंस्था तथा स्वदेशी र अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग प्राप्त हुँदै आएको छ।
राहत तथा पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा हालसम्म १५ अर्ब रुपियाँभन्दा बढी रकम जम्मा भइसकेको छ। प्राप्त रकम बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा आवश्यक पूर्वाधार निर्माणमा उपयोग गरिने छ।