विराटनगर, २१ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शनिबार कोशी अस्पतालको अनुगमन गर्दै अस्पताल परिसरमै विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने विषयमा प्रारम्भिक छलफल गर्नुभएको छ।
हाल सञ्चालनमा रहेको आँखा उपचार सेवालाई विस्तार गरी छुट्टै आँखा अस्पतालका रूपमा विकास गर्ने सम्भावनाबारे अस्पताल प्रशासनसँग छलफल भएको मन्त्रालयले जनाएको छ। अनुगमनमा मोरङ निर्वाचन क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्य रुविना आचार्यको पनि सहभागिता रहेको थियो।
अनुगमनका क्रममा मन्त्री मेहताले आकस्मिक कक्ष, विभिन्न वार्ड, प्रयोगशाला, फार्मेसी तथा निर्माणाधीन संरचनाको निरीक्षण गर्दै सेवा प्रवाह, सरसफाइ, पूर्वाधार व्यवस्थापन र निर्माण कार्यको प्रगतिबारे जानकारी लिनुभएको थियो।
निरीक्षणपछि उहाँले अस्पताल प्रशासनलाई अस्पताल परिसरको सरसफाइलाई थप प्रभावकारी बनाउन, निर्माण तथा मर्मतसम्भारका कार्य निर्धारित समयभित्र सम्पन्न गर्न, आवश्यक रङरोगन तथा पूर्वाधार व्यवस्थापनलाई व्यवस्थित गर्न तथा प्रत्येक विभागको नियमित अनुगमन गरी प्रगति विवरण मन्त्रालयमा पेश गर्न निर्देशन दिनुभयो।
त्यसैगरी, अस्पताल परिसरभित्र रहेका अनाधिकृत संरचना हटाउने विषयमा एक महिनाअघि मन्त्रालयबाट दिइएको निर्देशन तत्काल कार्यान्वयन गर्न पनि उहाँले पुनः निर्देशन दिनुभएको छ।
मन्त्री मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नु मन्त्रालयको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै सेवा सुधारमा कुनै पनि प्रकारको ढिलासुस्ती स्वीकार्य नहुने बताउनुभयो।