२० हजार राशीको ‘नेपाल एएमआर मिडिया अवार्ड’ प्रदान गरिने
काठमाडौँ, ८ मंसिर । ग्लोबल एएमआर मिडिया अलायन्सको नेपाल च्याप्टर गठन भएको छ।
नेपालमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) सम्बन्धी सचेतना बढाउने र तथ्यमा आधारित विश्वसनीय पत्रकारिता प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल एएमआर मिडिया अलायन्सको नेपाल च्याप्टर गठन गरिएको हो ।
ग्लोबल एएमआर मिडिया अलायन्स एशिया प्यासिफिक क्षेत्रकी अध्यक्ष कल्पना आचार्यले बढ्दो एएमआर समस्यालाई कम गर्न मिडियाको भूमिकालाई निर्णायक हुने भन्दै नेपालमा पनि एकीकृत मिडिया अभियान आवश्यक रहेको बताउनुभयो ।
ग्लोबल एएमआर मिडिया अलायन्स, विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्य पत्रकार मञ्च नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपाल च्याप्टरको घोषणा गर्नुभएको हो ।
‘एएमआर जनस्वास्थ्यका लागि मौन महामारी बनेर फैलिँदै गएको भन्दै आचार्यले तथ्यमा आधारित पत्रकारितामार्फत जनमानसमा सचेतना बढाउन र नीति निर्माणमा दबाब सिर्जना गर्न नेपाल च्याप्टर महत्वपूर्ण मञ्च बन्ने दाबी गर्नुभयो ।
उहाँले एएमआर आफैमा प्राविधिक र जटिल विषय भएकाले यसलाई सरलीकृत बनाउँदै सही सूचना दिन पत्रकारको क्षमता अभिवृद्धि तथा तालिम समेतको आयोजना गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले एएमआरको बारेमा जनमानसमा बुझाई कम रहेको र यसबारे बुझाउन र उनीहरुलाई सचेत बनाउने काममा मिडियाकर्मीको ठूलो भूमिका हुने बताउनुभयो ।
यसैगरी, स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष भिषा काफ्लेले मिडियाकर्मी आफै नै एएमआरको बारेमा कम जानकार भएको भन्दै यस विषयमा मिडियाकर्मीलाई पनि तालिमहरुको आवश्यकता औँल्याउनुभयो ।
नेपाल च्याप्टरको घोषणासँगै आगामी वर्षदेखि एएमआरबारे उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई २० हजार अक्षरुपी राशी सहित ‘नेपाल एएमआर मिडिया अवार्ड’ प्रदान गरिनेछ ।
उक्त अवार्डले एएमआरका क्षेत्रमा अनुसन्धानात्मक, तथ्यपरक तथा प्रभावशाली सामग्री उत्पादन गर्ने पत्रकारलाई सम्मान गर्नेछ।
यो अवार्ड विश्व एएमआर सचेतना सप्ताहको अवसर पारेर दिइनेछ। अवार्डको आवेदन प्रक्रिया, मूल्याङ्कन मानक र छनोट विधिबारे विस्तृत जानकारी चाँडै नै सार्वजनिक गरिने नेपाल च्याप्टरकी अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
ग्लोबल एएमआर मिडिया अलायन्स विश्व भरका मिडियाकर्मीको साझा नेटवर्क हो जसले एएमआरका विषयमा पैरवी र खबरदारी गर्दै कलम चलाउने गर्छन ।
यो नेटवर्कमा विश्वका ५७ देशका ४ सय बढी पत्रकार आवद्ध छन् ।यसले हरेक वर्ष ग्लोबल एएमआर मिडिया अवार्ड प्रदान गर्ने गर्छ ।
जसमा विश्वभरका पत्रकारले आवेदन दिन सक्छन् ।योबाहेक आगामी वर्षदेखि नेपाल च्याप्टरले नेपालका लागि छुट्टै मिडिया अवार्डको घोषणा गरेको हो ।