उपचारमा कमी हुन नदिने आश्वासन
वीरगन्ज, ९ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सोमबार वीरगन्जका विभिन्न अस्पतालहरूमा पुगेर उपचाररत बिरामीहरूको अवस्थाबारे जानकारी लिनुभएको छ ।
निरीक्षणका क्रममा मन्त्री पौडेल बिरामीहरूको शय्यामा पुगेर स्वास्थ्य अवस्था, औषधि वितरण र उपचारमा देखिएका चुनौतीबारे जानकारी लिनुभयो ।
एक बिरामीका आफन्तले डाक्टरले तोकेको औषधिको खर्च आफैंले व्यहोर्नु परेको गुनासो गरेपछि मन्त्री पौडेलले तत्काल जानकारी लिएर समाधान गर्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो ।
उहाँले उपचारमा कमी हुन नदिने आश्वास समेत दिनुभयो ।
निरीक्षणकै क्रममा एक स्वास्थ्यकर्मीले बिरामीलाई दिइने सलाइन र इन्जेक्सन निःशुल्क हुने तर अन्य औषधिका लागि पैसा तिर्नु पर्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।
मन्त्री पौडेलले अस्पताल अनुगमनपछि वीरगन्ज महानगरपालिका मेयरसहित सरोकारवालासँग हैजा रोकथाम तथा नियन्त्रणबारे विशेष छलफल गर्नुभएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साका अनुसार, हालसम्म वीरगन्जमा १६१ जनाको झाडापखालाका नमुना परीक्षण गरिँदा ७१ जनामा हैजा संक्रमण पुष्टि भएको छ।
हैजा नियन्त्रणका लागि जनचेतना, सुरक्षित खानेपानी र तत्काल उपचार सेवा प्रभावकारी बनाउन सरकार सक्रिय रहेको कार्यालयले जनाएको छ।