काठमाडाैँ, २२ जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता गरेको आरोपमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा विशेष अदालत काठमाडाैँमा मुद्दा दायर गरिएको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार फौजदारी र भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएसँगै सार्वजनिक ओहोदाका व्यक्तिको सार्वजनिक पद स्वतः निलम्बन हुने प्रावधान छ । नेपाल सङ्घीय संसद्अन्तर्गत रौतहट जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ बाट निर्वाचित सांसद हुनुहुन्छ ।
सो आरोपपत्र दायर भएसँगै नेकपा (एकीकृत समाजवादी)का अध्यक्षसमेत रहनुभएका पूर्वप्रधानमन्त्री नेपालको सांसद पद स्वतः निलम्बन भएको छ ।
काभ्रेपलाञ्चोकको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अभियोगमा आयोगले उहाँहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो माग गरिएको छ ।