काठमाडौँ, ४ चैत । यो वर्षको ‘निक साईमन्स अवार्ड ’ २०२४ बाट धादिङको ज्वालामुखी गाउँपालिका ढोला स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक रविन थापालाई प्रदान गरिएको छ ।
ढोला स्वास्थ्य चौकीमा कार्यरत थापालाई स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र र निक साईमन्स ईन्स्टिच्युटको संयुक्त आयोजनामा मंगलबारदेखि काठमाडौँमा सुरु भएको १३ औँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनको उदघाटन समारोहमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अवार्ड प्रदान गर्नुभयो ।
जनस्वास्थ्य निरीक्षक थापाले ग्रामीण क्षेत्रमा रहेर उत्कृष्ठ स्वास्थ्य सेवा प्रदान गरेको भन्दै उहाँलाई ‘निक साईमन्स अवार्ड २०२४ बाट सम्मानित गरिएको हो ।
निक साइमन्स इन्सिच्युटले निक साईमन्स अवार्ड – २०२४ का लागि ईच्छुक स्वास्थ्यकर्मीहरुलाई ग्रामीण क्षेत्रमा आफूले गरेको कार्यविवरण सहित आवेदन दिन गत मंसिर महिनामा गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो । स्वास्थ्य तालिम केन्द्रकी निर्देशक यशोदा अर्यालका अनुसारसो सूचना अनुसार २५ जनाले आवेदन दिएका थिए । अन्तिममा १७ जनाको आवेदन मात्रै छनौट गरिएको थियो । अर्यालका अनुसार अवार्डका लागि नाम छनौट समितिले त्यसमध्ये पाँच जनालाई उत्कृष्ठ पाँचमा छनौट गरि अन्तिम प्रतिस्पर्धा गराइएको थियो ।
उहाँहरुमा कालिकोटका सी अहेव अमरबहादुर सहकारी, दैलेखका सीअहेव कमलकुमार भण्डारी, खोटाङकी अनमी गंगा दाहाल र दार्चुलाका सीअहेव हरिकृष्ण जोशी हुनुहुन्छ । पाँचजनामध्येबाट रविन थापा अवार्डका लागि छनौट गरिएको हो । तालीम केन्द्रकी निर्देशक यसोदा अर्यालको संयोजकत्वमा पाँच सदस्यीय समितिले अवार्डका लागि स्वास्थ्यकर्मी छनौट गरेको थियो ।