पौड्यालको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समिति गठन
काठमाडौ, ८ पुस । धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालय (केयू)को विवाद मिल्ने
सम्भावना बढेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केयूको ९८ औँ सभाले काठमाडौं विश्वविद्यालय (केयू) र धुलिखेल अस्पतालबीच चुलिँदै गएको विवाद समाधान गर्न सहजीकरण समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकले विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको आपसी समस्याबारे समाधानसहितको प्रस्ताव तयार गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समिति गठन गरेको हो।
सहजीकरण समितिले समाधानसहितको प्रस्ताव सहित केयूको माघ ४ गते बस्ने सिनेट बैठकमा प्रतिवेदन पेस गर्न अख्तियारी पनि दिइएको छ।
समितिमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा भोला थापा, स्कुल अफ मेडिकल साइन्सेसका डीन प्रा डा मनोज हुमागाईँ, स्कुल अफ 'ल'का डीन डा ऋषिकेश वाग्ले तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा रामकण्ठ माकजु श्रेष्ठ, प्रशासकीय निर्देशक डा विराज कर्माचार्य र अनुसन्धान निर्देशक प्राडा राजीब श्रेष्ठ सदस्य रहेका छन्।
केयू र अस्पतालबीच विवाद बढ्दै जाँदा दुई संस्था छुट्टिने अवस्थामा पुगेका छन्। धुलिखेलले छुट्टै प्रतिष्ठानको काम अगाडि बढाइरहेको छ भने केयूले अर्को अस्पताल निर्माणको काम अगाडि बढाइरहेको छ।
दुई संस्थाबीच विसं. २०५९ चैत १९ गते आपसी सम्झौताका आधारमा सहकार्य हुँदै आइरहेको छ।