काठमाडौं,१३ जेठ । निक साईमन्स इन्स्टिच्युट २० हजार डलर राशी सहित पुरस्कृत भएको छ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओले प्रत्येक वर्ष प्रदान गर्ने सासाकावा स्वास्थ्य पुरस्कारबाट निक साईमन्स इन्स्टिच्युट पुरस्कृत भएको हो।
डब्लुएचओले मानिसहरुको स्वास्थ्यमा सुधार गर्न उल्लेखनीय योगदान दिएको भन्दै इन्स्टिच्युटलाई उक्त पुस्कार प्रदान गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा निक साईमन्स इन्स्टिच्युटले उक्त पुरस्कार प्राप्त गरेको हो।
उक्त पुरस्कार निक साईमन्स इन्स्टिच्युटकि कार्यकारी प्रमुख डा. अर्चना अमात्यले ग्रहण गर्नुभएको थियो।
पुरस्कार स्वरुप २० हजार अमेरिकी डलर र ट्रफी प्राप्त गरेका छन्। उक्त पुरस्कार समारोह डब्लुएचओको मुख्यालय स्वीजरल्याण्डको जेनेभामा भएको थियो।
यो पुरस्कार सन् १९८४ मा जापान सिपबिल्डर्स एशोसिएसनका तत्कालीन अध्यक्ष रयोची सासाकावाको पहलमा विश्व स्वास्थ्य संगठनका तत्कालीन महानिर्देशक हाफदान महलरसँगको सहमतिमा स्थापना भएको हो। विश्व स्वास्थ्य संगठनका महानिर्देशकको अध्यक्षतामा रहेको सासाकावा स्वास्थ्य पुरस्कार चयन समितिद्धारा विजेताहरु चयर गरी कार्यकारी बोर्डद्धारा मतदान गरिन्छ।
निक साईमन्स इन्स्टिच्युटले १६ वर्षदेखि नेपालको ग्रामीण स्वास्थ्य सेवाको गुणस्तरलाई अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।