काठमाडौं,१३ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले चुनाव नजिकदै गर्दा सिटामोलको मुल्य बढाउन नहुने बताउनुभएको छ। नेपाल औषधी उत्पादक संघको २८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खापुङले चुनावको मुखमा मुल्य बढाउनु नहुने भन्दै अहिले डेङगुको प्रकोपको बेला जनताको मन जित्ने र सेवा गर्ने बेला भएको बताउनुभयो। ‘डेंङगुको प्रकोप घटेको छैन, सरकारलाई चुनौती दिने समय होइन्, जनताको मन जित्ने र धर्म गर्ने समय हो,’ स्वास्थ्य मन्त्रीले भन्नुभयो ‘सिटामोलका धनीहरु यहाँहरु हो । बजारमा सिटामोल अभाव भयो भन्ने नबनाइ दिनुहोला ।’ उहाँले नेपाली औषधी उत्पादकका मागहरु सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउँदैं अहिले डेंङगुको प्रकोपका बेला केही मागहरु पूरा गर्न नसकिने बताउनुभयो। डेङगुको समयमा मान्छे ढलेका बेला मूल्य बढाउनु उपयुक्त नहुने उहाँको भनाइ छ। हिजो घाटा खाएर पनि सेवा गरेका छौं भन्ने बाटो हुन्छ, ढिलाे चाडाे हाे याे समस्या समाधान हुन्छ । नेपालमा उत्पादन भएका औषधी प्राथमिकतामा पर्नुपर्छ ।’ मन्त्री खापुङले औषधी उत्पादकका समस्या आफूले बुझेको बताउनुभयो । ५५ प्रकारका औषधी उत्पादनमा आत्मनिर्भर भएको कुरा आएको बताउँदैं आत्मनिर्भर भनिएको सिटामोलको बजार अभाव हुनुले राम्रो सन्देशन नगएको बताउनुभयो। कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले ३० वर्षअघिको तुलनामा नेपाली औषधी उधोगले धेरै फ्डको मारेको बताउनुभयो । उहाँले नेपाली औषधी सबै चिकित्सकले लेख्ने वातावरण सिर्जना गर्न लाग्नुपर्ने सुझाव व्यवयासीहरुलाई दिनुभयो। डा. पोखरेलले मुल्य समायोजन कुरा पेचिलो भएकाले यसमा आफू केही नेबोल्ने बताउनुभयो । राजनीतिज्ञ, व्यवसायी र प्रशासकहरु मिलेर काम गरेमा यसको पनि समाधान निस्कने बताउनुभयो । औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले औषधीको मुल्यमा समायोजन हुनुपर्ने बताउनुभयो । मुल्य समायोजन संगै गुणस्तरीय बनाएर अन्तराष्ट्रिय क्षेत्रमा नेपाली औषधीलाई लैजानुपर्ने उहाँको भनाइ छ। सुरक्षाकालागि नेपाली उद्योगलाई संरक्षण गर्ने निती आवस्यक बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले नेपाली उद्योगहरुमा अस्वस्थ्य प्रतिस्पर्धा रहेकोले त्यसलाई हटाउनुपर्ने बताउनुभयो। उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपालमा स्वास्थका दक्ष जनशक्तिलाई टिकाउने र तयार गर्न सरकारले वातावरण बनाउनुपर्ने बताउनुभयो। एपोनका अध्यक्ष प्रज्वल जंग पाण्डेले नेपाली औषधी उद्योगीले जुनसुकै अभावको वेला पनि औषधी नेपाली जनतालाई उपलब्ध गराएको बताउनुभयो। उहाँले सरकारको निती राम्रो भएपनि कार्यन्वयन पक्ष फितलो भएको आरोप लगाउनुभयो । एपोनका महासचिव विप्लव अधिकारी नेपाली औषधी उद्योगले ४५ प्रतिशत आत्मनिर्भर रहेको जानकारी दिनुभयो। केमसनका अध्यक्ष भक्त हमालले सिटामोलको मूल्य समायोजन हुनुपर्नेमा जोड दिनुभयो । औषधी व्यावसायी संघका निवर्तमान अध्यक्ष बाबुराम भट्टराइले औषधी उद्योगका समस्या धेरै मन्त्रीले सुनेको र आश्वासन दिएको तर पुरा हुन नसकेको बताउनुभयो । नेपाल मेडिकल एसोसिएसनका कोषाध्यक्ष डा प्रकास बुढाथोकीले नेपालको स्वास्थ्य सेवा नेपालीले ढुक्क संग लिन सक्ने खालको गुणस्तर बनाउनुपर्नेमा जोड दिनुभयो । एपोनका पुर्व अध्यक्ष उमेशलाल श्रेष्ठले १५ वर्ष देखी एउटै मुल्यमा औषधी वेच्नुपर्दा आफुहरु पिल्सिएको बताउनुभयो ।