• बुधबार, ४ कात्तिक २०८३
  • images

    धुलिखेल कल्याणकारी सेवा समाजको अध्यक्षमा स्वास्थ्य पत्रकार तिमल्सिना

    धुलिखेल कल्याणकारी सेवा समाजको अध्यक्षमा स्वास्थ्य पत्रकार तिमल्सिना

    सोमबार, भदौ १५ २०८३
    सोमबार, भदौ १५ २०८३
    धुलिखेल कल्याणकारी सेवा समाजको अध्यक्षमा स्वास्थ्य पत्रकार तिमल्सिना

    काभ्रे, १५ भदौ । धुलिखेल कल्याणकारी सेवा समाजको अध्यक्षमा स्वास्थ्य पत्रकार तथा समाजसेवी भगवती तिमल्सिना निर्विरोध निर्वाचित हुनुभएको छ। 

    समाजको दशौँ वार्षिकोत्सव तथा छैटौँ साधारण सभाले तिमल्सिनाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

    images

    शनिबार धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयको योगाहलमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा परशुराम गोदार थापा, सचिवमा खड्गबहादुर (जीवन) श्रेष्ठ, कोषाध्यक्षमा ममता लामा तथा सदस्यमा जीतबहादुर केसी, तुलसीराम रिजाल, अमिन सुतार कार्की, अम्बिका हुमागाईं र राजेन्द्र शाहलाई चयन गरेको छ।

    नवनिर्वाचित अध्यक्ष तिमल्सिनाले संस्थालाई सबै सदस्यको साझा थलोका रूपमा विकास गर्दै सामाजिक उत्तरदायित्वका कामलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संस्थाले विगतदेखि सञ्चालन गर्दै आएका सामाजिक, सांस्कृतिक तथा पारिवारिक कार्यक्रमलाई निरन्तरता दिँदै सदस्य परिवारबीचको आपसी सम्बन्ध र सहयोगलाई थप सुदृढ बनाउने बताउनुभयो।

    उहाँले पछिल्लो समय देशका विभिन्न क्षेत्रमा देखिएको विपद्का कारण नागरिकले भोग्नुपरेको पीडाप्रति संस्था संवेदनशील रहेको उल्लेख गर्दै भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारलाई सदस्यहरूले आफ्नो क्षमताअनुसार आर्थिक, सामाजिक तथा भौतिक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। विपद्को समयमा सामाजिक संस्था र नागरिकको भूमिका अझ महत्वपूर्ण हुने भन्दै उहाँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वेच्छिक सहयोग गर्न सदस्यलाई आग्रह गर्नुभयो।

    निवर्तमान अध्यक्ष गायत्रीरमण घिमिरेले धुलिखेलमा विभिन्न कामका सिलसिलामा आएर स्थायी बसोबास गरेका १८ जिल्लाका व्यक्तिलाई एउटै परिवारमा आबद्ध गरी सुख–दुःखमा साथ दिने उद्देश्यले संस्था स्थापना गरिएको बताउनुभयो। एक दशकको अवधिमा संस्थाले सदस्यबीच आपसी एकता, सद्भाव र सहयोगको भावना विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो।

    समाजका अनुसार हाल ७५ परिवारका करिब ४१० सदस्य संस्थामा आबद्ध छन्। सदस्य परिवारबीच भाइचारा तथा सांस्कृतिक सम्बन्ध बलियो बनाउन तिहारमा देउसी–भैलो, पारिवारिक वनभोज, धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकनलगायत कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

    सदस्य परिवारमा मृत्यु हुँदा समाजले किरिया खर्च सहयोगस्वरूप एकमुष्ट २५ हजार रुपियाँ उपलब्ध गराउँदै आएको छ। आगामी दिनमा दुःखमा परेका सदस्य परिवारलाई सामूहिक रूपमा साथ दिने संस्कारलाई थप प्रभावकारी बनाउने योजना समाजले अघि सारेको छ।

    समाजले धुलिखेलमा व्यवस्थित दाहसंस्कारस्थल तथा पितृपूजा स्थल निर्माणलाई पनि प्राथमिकतामा राखेको छ। धुलिखेल नगरपालिकाले साविक वडा नं ६ स्थित दाहसंस्कारस्थलभन्दा तल बुद्धपार्क क्षेत्रमा दाहसंस्कारस्थल तथा क्रियापुत्री भवन निर्माणका लागि स्वीकृति दिए पनि विद्युतीय शवदाहस्थल निर्माणका लागि बागमती प्रदेश सरकारसमक्ष प्रस्तुत परियोजना छनोटमा पर्न नसकेको समाजले जनाएको छ।

    साधारण सभाले आगामी आर्थिक वर्षमा पारिवारिक मिलन तथा वनभोज, स्वास्थ्य शिविर, देउसी–भैलो कार्यक्रम, समिति तथा उपसमितिलाई थप क्रियाशील बनाउने, सदस्यता विस्तार गर्ने तथा स्थानीय तह र विभिन्न सामाजिक संस्थासँग सहकार्य गर्ने योजना पारित गरेको छ।

    समाजमा हालसम्म २७ जना आजीवन सदस्य बनेका छन्। साधारण सभाले सदस्य नवीकरण शुल्क पाँच सय र किरिया सहयोगबापत दुई हजार पाँच सय गरी प्रतिपरिवार वार्षिक तीन हजार रुपियाँ कायम गर्ने प्रस्ताव पारित गरेको छ। त्यस्तै आजीवन सदस्यता शुल्क ३० हजार र नयाँ सदस्य प्रवेश शुल्क १० हजार रुपियाँ कायम गरिएको छ।

    कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार मोहन दुवालले संस्थाको दश वर्षे गतिविधि समेटिएको प्रकाशन विमोचन गर्नुभयो। उहाँले संस्थापक ज्येष्ठ सदस्य विष्णुप्रसाद पाण्डेलाई सम्मान गर्दै सामाजिक एकता, सहयोग र सद्भावलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।

    धुलिखेल अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ तथा सञ्जीवनी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. राजेन्द्र कोजूले समाजमा आबद्ध ४१० सदस्यको स्वास्थ्यलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो। रोग लागेपछि उपचार गर्नुभन्दा नियमित स्वास्थ्य परीक्षणमार्फत रोगको जोखिम पहिचान र रोकथाममा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

    रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष तथा समाजसेवी मोहनकुमार श्रेष्ठले सामाजिक सेवाका क्षेत्रमा धुलिखेल कल्याणकारी सेवा समाजसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। धुलिखेल नगरपालिका–७ का वडाध्यक्ष रोमीप्रसाद ब्याञ्जुले संस्थाले देखाउँदै आएको मानवीय भावना, पारस्परिक सहयोग र सद्भावको प्रशंसा गर्नुभयो।

    संस्थापक तथा समाजसेवी प्रल्हाद प्याकुरेलले धुलिखेलको विकास तथा सामाजिक क्षेत्रमा संस्थामा आबद्ध सदस्यले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभयो।

    कार्यक्रममा निर्वाचन समितिका संयोजक तथा पूर्वअध्यक्ष चुडामणि पराजुली, निर्वाचन समितिका सदस्य धनबहादुर बस्नेत र अरुणा कुमारी बरालले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो। निवर्तमान उपाध्यक्ष खड्गप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा आजीवन सदस्यलाई सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रम सञ्चालन सदस्य त्रिलोचन घिमिरेले गर्नुभएको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार