काठमाडौँ, ९ असार । प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदीसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले सुन्दर कर्णाली संस्थासँग करार सम्झौता गरी सोही संस्थाबाट प्रदेश अस्पताल सुर्खेतमा कामकाज गर्न खटिएका तृप्ती शाही र कुमारी बैँकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगरले आफ्नो जिम्मामा रहेको सार्वजनिक संस्थाको सम्पत्ति हानि नोक्सानी तथा दुरुपयोग गर्ने बदनियत राखी रकम हिनामिना गरेको देखिएको छ ।
आयोगले आज दायर गरेको आरोपपत्रअनुसार अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, कम्प्युटर अपरेटर (करार) पदमा कार्यरत तृप्ती शाही र कुमारी बैंकको एक्सटेन्सन काउन्टर सुर्खेतकी तत्कालीन प्रमुख गोमा सिजाली मगरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको हो ।
अनुसन्धानका क्रममा करारमा कार्यरत तृप्ती शाही स्वास्थ्य बीमा शाखाको नाम दर्ता काउन्टरमा खटिए पनि अनधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी सेवा लिन आएका बिमितहरूको विवरण प्रविष्ट गर्नुका साथै उठेको राजस्व रकममध्ये ठूलो हिस्सा अस्पतालको खातामा दाखिला नगरी हिनामिना गरेको पाइएको हो ।
उनीहरू सबैले आआफ्नो जिम्मेवारीको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको पुष्टि भएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
२०८० साउन १ देखि मसान्तसम्मको अवधिमा संकलन भएको कुल राजस्व रकम ३४ लाख ३ हजार ८५६ रुपैयाँ ५० पैसामध्ये ८ लाख ३६ हजार ३३० रुपैयाँमात्र बैंकमा दाखिला गरिएको र बाँकी २५ लाख ६७ हजार ५२६ रुपैयाँ ५० पैसा हिनामिना गरिएको अख्तियारले जनाएको छ ।
शाहीले सम्पत्ति दुरुपयोग गर्ने बदनियतले यस्तो कार्य गर्दा लेखा अधिकृत सुवेदी र बैंक काउन्टर प्रमुख सिजाली मगरको समेत मिलेमतो रहेको देखिएको अख्तियारले उल्लेख गरेको छ ।