काठमाडौं, ३१ वैशाख । विराटनगरस्थित कोशी अस्पतालले गत आर्थिक वर्षमा ८ करोड ६१ लाख ७१ हजार बराबरको औषधी तथा औषधिजन्य सामग्री विना प्रतिस्पर्धा खरिद गरेको छ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार कुल खरिदमध्ये रु ३ करोड ३० लाख ६९ हजार रुपैयाँको गत वर्षको टेन्डरको दरबाट र बाँकी ४ करोड ९१ लाखको सोझै खरिद गरिएको हो।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ (१ क) अनुसार सार्वजनिक निकायले २५ लाख रुपैयाँसम्मको औषधीजन्य मालसामान सोझै खरिद गर्न सक्ने व्यवस्था छ । नियम ८४ (१क) अनुसार ५० लाखसम्म सिलबन्दी दरभाउपत्रमार्फत र त्यसभन्दा माथि बोलपत्र प्रणालीमार्फत खरिद गर्नुपर्ने प्रावधान छ।
तर, कोशी अस्पतालले एकमुष्ट तागत अनुमान बनाएर खुला बोलपत्रमार्फत खरिद गर्नु पर्ने भए तापनि, प्रतिस्पर्धा नगराइ औषधी खरिद गरिएको देखिएको छ। दोस्रो पटक पनि अन्य प्रतिस्पर्धीलाई अवसर नदिई पुनः बोलपत्र आह्वान नगरी सोही प्रक्रिया दोहोर्याइएको थियो।