बयानका लागि तीनदिनभित्र काउन्सिलमा उपस्थित गराउन निर्देशन
काठमाडौँ, १६ फागुन । नेपाल मेडिकल काउन्सिलले धुलिखेल अस्पतालका विभागीय प्रमुख सहित चार जना चिकित्सकलाई निलम्बन गरेको छ ।
धुलिखेल अस्पतालका आवासीय चिकत्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर काउन्सिलले चार चिकित्सकलाई निलम्बन गरेको हो ।
धुलिखेल अस्पतालका विभागीय प्रमुख डा अजय रिसालसहित ४ जना चिकित्सकलाई निलम्बन गर्ने निर्णय गरिएको काउन्सिलका प्रवक्ता तथा रजिष्ट्रार डा. शतिसकुमार देवले भन्नुभयो । ।
नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा देवले फागुन १२ गतेको पूर्ण बैठकले चारजना चिकित्सकलाई निलम्बन गर्ने निर्णय गरेको जानकारी दिदै डा. रिसालसंगै डा दीपक कुँवर, डा वर्षा श्रेष्ठ र डा रिका रिजाललाई एक साताका लागि कामकार्वाहीमा संलग्न नगर्न, नगराउने गरी कारबाही गरिएको बताउनुभयो ।
त्यसका लागि काठमाडौँ मेडिकल कलेज स्कुल अफ मेडिसिनलाई पत्रचार गरिएको छ । काउन्सिलले सदस्य डा कालुसिंह खत्री र पुण्यरत्न शाक्यलाई अनुसन्धानका लागि धुलिखेल पठाएको थियो। सोही आधारमा ती चिकित्सकलाई कारबाही गरिएको हो ।
डा. देवले उजुरी र स्थलगत अध्ययन प्रतिवेदनमा छलफलपछि काउन्सिल निलम्बन गर्ने निर्णयमा पुगेको बताउनुभयो ।
डा देवका अनुसार थप छानविनका लागि डा विश्व दवाडीको नेतृत्वमा समिति बनेको छ। समितिमा डा कुन्जाङ शेर्पा, डा आनन्द शर्मा, डा रुपक घिमिरे र राजेश्वर अधिकारी सदस्य हुनुहुन्छ । काउन्सिलका प्रवक्ता डा. देवले चारै जना चिकित्सकलाई बयानका लागि तीन दिनभित्र काउन्सिलमा उपस्थित हुन निर्देशन दिइएको छ ।
विभागीय प्रमुखसहित मानसिक रोग विभागमा कार्यरत चिकित्सकले मानसिक यातना दिएको भन्दै एक आवासीय चिकित्सकले आत्महत्या प्रयास गर्नुभएको थियो ।