हरेउले डसेर दैनिक डेढ दर्जन बिरामी

हरेउ विषालु सर्प भए पनि मान्छे मार्ने खालको होइन : चिकित्सक

काठमाडौँ,७असार।तापक्रम वृद्धि भएसँगै काठमाडौंसहित आसपास जिल्लामा सर्पले डसेर उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या बढेको छ । काठमाडौं, भक्तपुर, ललितपुर, कीर्तिपुर, नुवाकोट, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेलगायत जिल्लाबाट दैनिक १८ जनाभन्दा बढी बिरामी शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकु आइपुग्ने परेका छन् । यसरी आउनेमा कृषि, रोपाइँ, बगैंचा र झारपातमा काम गर्ने महिलाको संख्या धेरै छ ।

चिकित्सकका अनुसार यस्ता बिरामी मुख्य रूपले ‘हर्रो/हरेउ’ भनिने ‘ग्रिन पिट भाइपर’ सर्पको डसाइबाट प्रभावित भएका छन् । उनीहरूमा रगत जम्ने प्रक्रियामा अवरोध, सुन्निने, पानी फोका आउने, असाध्य दुख्ने, चक्कर आउने, कमजोरी आदि समस्या देखिने गरिएको छ । टेकु अस्पतालका डा.शेरबहादुर पुनका अनुसार हर्रो सर्पको डसाइ साइटो र हिमोटक्सिक भएकाले यसले शरीरको तन्तु र रगत जम्ने प्रक्रियालाई असर पार्छ, आन्तरिक रक्तश्राव गराउन सक्छ ।

यसको विषमा हिमो टक्सिक गुण सबैभन्दा बढी हुने भएकाले रक्त सञ्चारमा धेरै असर गर्ने नेचुरल हिस्ट्री म्युजियमका पूर्वनिर्देशक एवं उभयचर र सरिसृप विशेषज्ञ प्रा.करनबहादुर शाहले बताए । ‘यो विषालु सर्प भए पनि मान्छे मार्ने खालको होइन,’ उनले भने । उनका अनुसार उपत्यकालगायत छेउछाउका जिल्लामा करिब ५–६ प्रजातिको ग्रिन पिट भाइपर पाइन्छ । केही समयअघिसम्म माउन्टेन पिट भाइपरको टोकाइ बढी देखिने गरेको उनले बताए । माउन्टेन पिट भाइपर पनि हरेउजस्तै रहेको शाहले औंल्याए । गोमन सर्पको १२ मिलिग्राम, करेतको ६ मिलिग्राम र सेल भाइपरको १५ मिलिग्राम विषले मान्छेको मृत्यु हुन्छ भने ग्रिन पिट भाइपरको १०० मिलिग्राम विषले मात्रै मृत्यु हुन सक्छ । यसले एकपटक टोक्दा ६० मिलिग्रामभन्दा बढी विष शरीरमा छोड्न नसक्ने भएकाले सामान्यतया मान्छेको मृत्यु हुँदैन ।

‘जेठ महिनाको मध्यदेखि सर्पदंशका बिरामी अत्यधिक बढेका हुन्,’ टेकु अस्पतालका डा. पुनले भने, ‘दिनहुँ सर्पदंशका करिब १२ जना बिरामी इमर्जेन्सीबाट उपचार गरेर फर्कन्छन् भने ६–७ जनालाई भर्ना गरेर उपचार गरिन्छ ।’

हर्रोले डसेर गत वर्ष टेकु अस्पताल भर्ना भएका एक जनालाई भने आईसीयूमा राखेर उपचार गर्दा पनि बचाउन नसकिएको उनले बताए । ‘त्यो सर्प हर्रो नभएर यातायात आदि कुनै माध्यमले पुगेको विषालु सर्प हो कि भन्ने आशंका गरिएको छ तर यकिन के भएको हो भन्न सकिन्न,’ डा.पुन भन्छन् ।

सर्पदंशले पीडित अधिकांश बिरामी तर्सेर आत्तिएको अवस्थामा अस्पताल पुग्ने गरेका छन् । ‘यस्ता बिरामीमा डर भनेको आन्तरिक रक्तस्रावकै हो,’ उनी भन्छन् । (कान्तिपुर दैनिक )

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !