बर्डफ्लु संक्रमित क्षेत्रमा जान डराए स्वास्थ्यकर्मी

काठमाडौं ,६ जेठ । बर्डफ्लु संक्रमणबाट पहिलोपटक मानिसको ज्यान गएपछि स्वास्थ्यकर्मी नै प्रभावित क्षेत्रमा जान डराउन थालेका छन् । गत १५ चैतमा बर्डफ्लुका कारण काभ्रेका २१ वर्षीय युवकको मृत्यु पुष्टि भएपछि सर्वसाधारणसँगै चिकित्सक पनि डराएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।कुखुरा मार्न र औषधिका लागि खटाइएका स्वास्थ्यकर्मी पनि हच्किन थालेको महाशाखा प्रमुख डा. विवेक लालले बताए । ‘विगतमा बर्डफ्लुका विषयमा कसैले चासो राख्दैनथे । मानिसकै मृत्यु भएपछि प्रत्यक्ष वा अप्रत्यक्ष जानकारी लिनेहरू बढेका छन् । संक्रमित क्षेत्रमा खटिन स्वाथ्यकर्मी पनि असहज मान्न थालेका छन्,’ उनले भने ।

नेपालमा बर्डफ्लु देखिएको १० वर्ष भएको छ । पहिलोपटक ०६५ मा झापाका कुखुरामा देखिएको थियो । सन् १९९६ मा बर्डफ्लु (एचफाइभएनवन) भाइरस पत्ता लागेको थियो । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार यो भाइरसबाट सन् २००३ यता विश्वभर आठ सय ६० मानिस संक्रमित भएकोमा चार सय ५४ को ज्यान गएको छ । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पक्षीमा मात्रै देखिने यो भाइरस वेलावेला मानिसमा सर्ने गर्छ । तर, मानिसबाट मानिसमा भने हालसम्म नसरेको चिकित्सकहरू बताउँछन् । महाशाखा प्रमुख डा. लालका अनुसार एचफाइभएनवान संक्रमणको रोकथामका लागि खोपको विकास भएको छ । तर, यो अझै पनि व्यापक उपयोगका लागि तयार भएको छैन । एन्टिभाइरल औषधिले बिरामीको गम्भीरता घटाउन र मृत्यु रोक्न सक्ने सम्भावना रहन्छ ।

७५ प्रतिशत क्षतिपूर्ति

पक्षी र विभिन्न सामग्री नष्ट गरिएका किसान तथा व्यवसायीलाई सरकारले ७५ प्रतिशत क्षतिपूर्ति दिन थालेको छ । मन्त्रालयका उपसचिव भट्टराईले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकले निर्धारण गरेको बजार मूल्यको ७५ प्रतिशत हुन आउने रकम किसानलाई दिन थालिएको बताए ।
‘रोग नियन्त्रणका लागि जिउँदो पक्षी मार्दा किसानलाई मर्का नहोस् भनेर क्षतिपूर्ति दिन थालिएको हो,’ उनले भने, ‘अहिले त किसानले लागत बराबर हुन आउने रकम क्षतिपूर्ति दिन थालेको छ । यसकारण रोग लागेपछि लुकाउने क्रम घट्न थालेको छ ।’

बर्डफ्लु क्षेत्रमा रहेका जिउँदा कुखुरा, हाँस, अन्डा, दानालगायत नष्ट गर्दा पहिले न्यून क्षतिपूर्ति दिइन्थ्यो । किसानले रोग लुकाएर मासु बिक्री गर्दा संक्रमणको जोखिम झन् बढ्ने देखेपछि मन्त्रालयले क्षतिपूर्तिको रकम किसानको लागतबराबर हुने गरी दिन थालेको हो । यसअघि क्षतिपूर्तिबापत नष्ट गर्ने कुखुराको प्रतिगोटा सय, मासुको प्रतिकेजी ५० र अन्डाको प्रतिगोटा ३ रुपैयाँ दिने गथ्र्यो ।

कुखुराको मासुको खपत घट्यो, खान कति सुरक्षित

बर्डफ्लुको संक्रमण फैलएपछि अहिले देशभर कुखुराको मासुको खपतमा गिरावट आएको छ । कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले अहिले देशभर चिकेनको खपत १५ प्रतिशतले घटेको बताए । ‘बर्डफ्लुका संक्रमण फैलिँदा चिकेनको खपत घट्नु स्वाभाविक हो, तर अहिले बिस्तारै मानिसहरूले बिर्सन थालेका छन्,’ उनले भने । देशभर प्रतिदिन पाँच लाख र उपत्यकामा दुई लाख ५० हजारदेखि तीन लाख किलोसम्म कुखुराको मासु खपत हुने गरेको छ । बर्डफ्लु संक्रमणअघि प्रतिकेजी तीन सय १५ रुपैयाँ रहेको चिकेनको मूल्य माग घटेसँगै तीन सय निर्धारण गरिएको जिसीले बताए ।
चिकित्सकहरू भने ७० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा राम्ररी पकाएको मासु वा अन्डाबाट बर्डफ्लु भाइरस सर्दैन । तर, संक्रमित कुखुराको सुली लागेको अन्डाबाट मनिसमा संक्रमण हुन सक्छ । डा. लालका अनुसार काँचो र पोलेको मासुबाट बर्डफ्लुको संक्रमण सर्ने सम्भावना धेरै हुन्छ ।

राज्यबाट रोकथाम तथा नियन्त्रणका उपाय

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा बर्डफ्लुको रोकथाम तथा नियन्त्रणका लागि केन्द्रीय र क्षेत्रीय नियन्त्रण समन्वय समिति गठन भएका छन् । पशुसेवा विभागका महानिर्देशक अध्यक्ष रहने केन्द्रीय समन्वय समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय पशु विज्ञान अनुसन्धानका प्रमुख सदस्य छन् ।

कुनै ठाउँमा बर्डफ्लुको आशंका लागे जिल्ला पशुसेवा कार्यालयले प्रारम्भिक अनुसन्धान प्रतिवेदनसहित नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाउँछ । बर्डफ्लु भएको पुष्टि गर्ने आधार भएको अवस्थामा नमुना लिइएको ठाउँलाई केन्द्रबिन्दु मानी तीन किलोमिटरसम्मको परिधिभित्रको क्षेत्रलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सम्भावित संकटग्रस्त क्षेत्र घोषणा गर्छ । त्यस क्षेत्रभित्रका घरपालुवा पक्षी, पक्षीजन्य पदार्थ, सम्बन्धित सामग्री तथा औजार नष्ट गर्छ ।

 डेढ महिनामा  एक लाख कुखुरा नष्ट
डेढ महिनामा बर्डफ्लु संक्रमित क्षेत्रका एक लाख कुखुरा नष्ट गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत २८ चैतसम्म संक्रमित क्षेत्रका एक लाख ६ हजार सात सय ७४ कुखुरा नष्ट गरेको जनाएको छ । काठमाडाैंको तारकेश्वर र टोखा, ललितपुरको गोदावरी, भक्तपुरको सूर्यविनायक, मकवानपुरको हेटौँडा, कास्कीको मादी, मोरङको सुन्दरहरैँचा र सुनसरीको इटरीमामा कुखुरा नष्ट गरिएको हो । त्यस्तै आठ सय ४७ हाँस पनि नष्ट गरिएको छ । संक्रमित क्षेत्रमा १७ हजार आठ सय ७३ किलो दाना, ४१ हजार नौ सय ५० वटा अन्डा, एक हजार ६ सय किलो भुस र १० किलो सुलीसमेत नष्ट गरिएको मन्त्रालयका उपसचिव प्रदीप भट्टराईले बताए । (नयाँ पत्रीका बाट )

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !