कर्णालीका बालबालिकाका लागि किनिएको पिठोमा ‘भिटामिन ए’ नै छैन

काठमाडौं, ९ साउन । सरकारले कर्णालीका पाँच जिल्लामा वितरण गर्न किनेको पोसिलो पिठो गुणस्तरहीन पाइएको छ । दुई वर्षसम्मका बालबालिका र गर्भवतीलाई वितरण गरिने पिठोमा भिटामिन ए नभएको परीक्षणबाट पुष्टि भएको छ । पोसिलो पिठोमा अत्यावश्यक तत्व नै नभएपछि अहिले वितरणमा रोक लगाइएको परिवार कल्याण महाशाखाका पोषण प्रमुख केदार पराजुलीले बताए ।

विश्व खाद्य कार्यक्रमले गुणस्तर मापन गर्दा भिटामिन ए नपाइएको उनले जानकारी दिए । यसैकारण केही महिनाका लागि पौष्टिक पिठो वितरण कार्यक्रम स्थगित हुन सक्ने अधिकारीहरूको भनाइ छ ।

सरकारले कुपोषण उच्च रहेको कर्णालीका पाँच जिल्ला हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पामा २० तथा सोलुखुम्बुमा १० वर्षदेखि पोसिलो पिठो वितरण गर्दै आएको छ । यसका लागि सरकारले गत वर्ष आठ करोड बजेट विनियोजन गरेको थियो । ६ जिल्लाका लागि विनियोजित बजेट अर्थ मन्त्रालयले ७७ वटै जिल्लामा पठाएको थियो । पछि त्यो रकम परिवार कल्याण महाशाखाले फिर्ता गराएको थियो ।

शारदा ग्रुपले बनाएको पिठो गुणस्तरहीन 
प्रदेश सरकारले पिठो किनिदिन आग्रह गरेपछि तत्कालीन आपूर्ति महाशाखा (हाल व्यवस्थापन महाशाखा)ले कर्णालीका लागि पिठो खरिद गरेको थियोे । उसले थापाथलीस्थित शारदा ग्रुपले बनाएको पिठो तीन करोड रुपैयाँमा खरिद गरेको थियो । त्यही पिठो परीक्षण गर्दा अत्यावश्यक भिटामिन ए तत्व नभेटिएको हो ।

सोलुखुम्बुका लागि भने सरकारले एक करोड बजेट विनियोजन गरेको थियो । तर, बजेटभन्दा बढीको टेन्डर परेपछि खरिद पक्रिया अघि बढ्न सकेन । सरकारले खरिद गर्ने पोसिलो पिठोको वितरण र गुणस्तर मापनको काम भने विश्व खाद्य कार्यक्रमले गर्छ ।

कुपोषणबाट हुने बाल मृत्युदर कम गर्न सरकारले कर्णाली र सोलुखुम्बुमा दुई दशकदेखि दुई वर्षसम्मका बालबालिका र गर्भवती महिलालाई पौष्टिक तत्वयुक्त पिठो वितरण गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यो कार्यक्रम प्रभावकारी देखिएको छैन । कर्णाली क्षेत्रमा कुपोषण अझै व्यापक छ । कुपोषणका कारण बाल मृत्युदर पनि उच्च छ । फापर, कोदो, जौ, मार्सी धान, रातो दाल उत्पादन हुने हिमाली र पहाडी जिल्लामा स्थानीय उत्पादनको विविधतायुक्त उपभोगलाई प्रोत्साहन गर्न नसक्दा कुपोषण बढेको विज्ञहरू बताउँछन् ।

किन खाने पोसिलो पिठो
भिटामिन ए, पोलिक मिसिन, आइरन, आयोडिन, भिटामिन बी कम्प्लेक्स, क्याल्सियम मिसाएर पिठो तयार गरिन्छ । वितरण गर्नुअघि विश्व खाद्य कार्यक्रमले विदेशमा लगेर यसको परीक्षण गर्छ । पिठोको म्याद एक वर्षको हुन्छ । यसको सेवनबाट कुपोषण, एनिमिया, भिटामिन एको कमीबाट हुने समस्या, रतन्धोजस्ता समस्या कम हुँदै जान्छन् ।

पराजुलीका अनुसार ६ जिल्लाका २१ हजार जनाले यस्तो पिठो प्रयोग गर्ने गरेको तथ्यांक छ । पौष्टिक पिठो दिनको सय ग्राम अर्थात् महिनामा तीन किलो खान सुझाइएको छ । पानी, दूध वा जसरी खाए पनि हुन्छ । पोषिलो पिठो पाउन गर्भवती महिलाले स्वास्थ्य संस्थामा पुगेर जाँच गराउनुपर्छ । स्वास्थ्य जाँचकै क्रममा पिठोका लागि फारम पनि भराइन्छ ।

कार्यक्रम नै स्थगित हुने सम्भावना

वितरणपूर्व गरिएको परीक्षणमा पिठो गुणस्तरहीन पाइएपछि कार्यक्रम स्थगित हुने सम्भावना बढेको छ । ‘गुणस्तरहीन पिठो खरिद गरिएकाले यस वर्ष कार्यक्रम रोकिने अवस्थामा पुगेको छ,’ परिवार कल्याण महाशाखाका पोषण प्रमुख केदार पराजुलीले भने, ‘अहिलेसम्म पुरानो स्टकले धानेको छ । अभाव हुन नदिने प्रयास गरिरहेका छौँ ।’ कार्यक्रम रोकिन नदिन तत्काल खरिद प्रक्रिया अगाडि बढाउने तयारी गरिएको उनले बताए । ‘आगामी चार महिनामा खरिद गरी सम्बन्धित स्थानमा पु¥याउने कोसिस गर्दै छौँ,’ उनले भने । (नयाँ पत्रीका दैनिक बाट )

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !