प्रसूति गराउने क्रममा लापरबाही गरेको सर्वोच्च अदालतको ठहर, अस्पताल र चिकित्सकले पाँच- पाँच लाख क्षतिपूर्ति दिनुपर्ने 

काठमाडौं,१८ असार । सर्वोच्च अदालतले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र उपचारमा खटिएका चिकित्सकले उपचारमा लापरबाही गरेको भन्दै १० लाख क्षतिपूर्ति दिनुपर्ने  ठहर गरेको छ । अस्पतालको तर्फबाट  पाँच लाख र उपचारमा सम्लग्न    चिकित्सक ठा. अचला बैधले पाँच लाख क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालतको फैसलालाई नै सदर गरेको हो ।
०६३ चैत २ गते सुत्केरी गराउने क्रममा भ्याकुम प्रयोग गरी बच्चा निकालिएको थियो । त्यसले बच्चालाई असर पारेको भन्दै पीडित सूर्यकुमारी अधिकारीले २ साउन, ०६४ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन् । अस्पताल र चिकित्सकको लापरबाहीले नवजात शिशुको बायाँ खुट्टा बांगिएको, टाउको पछाडि फर्केको, शरीरको बायाँ भाग नचल्ने भएको, अनुहार भित्र पसेको, निधार र नाकलगायतका अंगमा चोट लागेको जिकिर गरिएको थियो । अधिकारीले  ८२ लाख ३० हजार माग गरेकी थिइन् ।
त्यसमा जिल्ला प्रशासन कार्यालयले लापरबाही ठहर गर्दै अस्पताल र चिकित्सकलाई पाँच÷पाँच लाख क्षतिपूर्ति तिर्नुपर्ने निर्णय गरेको थियो । यसविरुद्ध पीडित परिवारले तत्कालीन पुनरावेदन अदालत पाटनमा निवेदन दिएका थिए । २२ पुस, ०६९ मा न्यायाधीशद्वय सुरेन्द्रबीर सिंह बस्न्यात र कुलरत्न भुर्तेलको इजलासले जिल्ला प्रशासनकै निर्णय सदर गरेको थियो । पीडित परिवार पुनरावेदन अदालतको फैसला पनि चित्त नबुझेपछि सर्वोच्च पुगेका थिए । सर्वोच्चले बुधबार पुनरावेदनकै फैसलालाई सदर गरिदिएको हो ।

सम्बन्धित पोस्ट

भर्खरैको पोष्ट

Sign up for Newsletter !